दमौली । भगवान वेदव्यासको अवतरणभूमि दमौलीमा विश्व ओमकार हिन्दु महामिलन पर्व एवं श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा व्यासगुफा परिसरमा कात्तिक २१ गतेदेखि २८ गतेसम्म महामिलन पर्व आयोजना गरिएको हो ।
व्यासभूमिको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउने उद्धेश्यसहित हिन्दु महामिलन पर्व आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
व्यासभूमि दमौलीमा विसं २०७३ जेठ ५ गते विधिवत स्थापित वेदानुयायी प्रतिष्ठान नेपालले धर्मको संरक्षण र सम्बद्र्धन गर्ने हेतुले व्यासको साधनाभूमि दमौलीमा दामोदर बाबाको संत्सङ्कल्प र संरक्षकत्वमा १८ महिने अखण्ड हरिनाथ सङ्कीर्तन सम्पन्न गरी प्रत्येक वर्ष कात्तिक महिनामा ओमकार हिन्दु महामिलन पर्व हुँदै आएको छ ।
कार्यक्रम अनुसार कात्तिक २१ गते कलशयात्रा, श्रीमद्भावत सप्ताह तथा हिन्दु महामिलन पर्वको उद्घाटन हुनेछ । कात्तिक २१ गतेदेखि २८ गतेसम्म दैनिक भगवत्वपूजा अर्चना, रुद्राभिषेक, हवन, श्रीमद्भागवत पाठपारायण, भागवत रसमर्मज्ञ, विशिष्ट विद्वान तथा सन्तहरुको आध्यात्मिक प्रवचन, हरिनाम सङ्कीर्तन, विभिन्न जातिका मौलिक संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
काफ्लेले भने, “व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, पत्रकार, राजनीतिक दलको साथ र सहयोग आवश्यक पर्दछ ।”
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । उनले भने, “पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।”
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।
व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गर्नुभएको थियो ।
आजभन्दा करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।