ह्विलचियरमा जब अपाङ्गता भएका व्यक्तिले बास्केटबल खेले…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ह्विलचियरमा जब अपाङ्गता भएका व्यक्तिले बास्केटबल खेले…

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८१, शनिबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा अपाङ्गता भएका व्यक्तिहरुले आज ह्विलचियरमा बसेर बास्केटबल खेलेका छन् । सहृदयी मञ्च नेपाल तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुबीच ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

    मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा व्यास र पराशर समूहको सहभागितामा रहेकामा व्यास समूह विजयी भएको छ । प्रतियोगितामा व्यास समूहले १२ र पराशर समूहले आठ अङ्क प्राप्त गरेको छ ।

    अपाङ्गता भएका व्यक्तिहरु खेल खेल्न सक्दैनन् भन्न् आम सोचाइ चिर्नका लागि मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । उनले भनिन् “समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका हौ ।”

    प्रतियोगिता उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । अपाङ्गता भएका व्यक्तिहरु खेल्न सक्दैनन् भन्ने आम सोचाइ चिर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने न्यौपानेको भनाइ थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरु पनि खेलकुदमा सक्षम रहेको यस्ता कार्यक्रमले पुष्टि हुने बताए ।

    व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले हरेक व्यक्तिले समान अधिकार पाउने संविधान प्रदत्त अधिकार रहेकाले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा जोड्ने प्रयास गरिएको बताए ।

    अपाङ्गत अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिले खेल्न सक्दैनन् भन्ने मानसिकता चिर्ने प्रयास गरिएको बताए । अपाङ्गता भएका व्यक्तिले पनि खेलकुदका गतिविधिमा संलग्न हुन पाउनुपर्छ भनेर स्थानीय तहलाई आग्रह गरिएको उनकाे भनाइ छ ।