दमाैली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।
उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पाण्डेले पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।