विदेशबाट आएकालाई घरमा बस्न दिइने (यस्ताे छ मापदण्ड)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विदेशबाट आएकालाई घरमा बस्न दिइने (यस्ताे छ मापदण्ड)

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । विदेशबाट फर्किएकालाई घरमै बस्न दिइने भएकाे छ । तर त्यसका लागि केही मापदण्ड भने पूरा गर्नुपर्नेछ । छुट्टै कोठा र शौचालय प्रयोग गर्न सक्ने नागरिकलाई विदेशबाट फर्किएर होम क्वारेन्टिनमै बस्न दिइने भएको छ ।

    जिल्ला सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले घरमा छुट्टै कोठा र शौचालय भई अलग्गै बस्न सक्ने व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको हो । त्यस्ता व्यक्तिलाई जनप्रतिनिधि, समाजका अगुवा र सुरक्षा निगरानीमा होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइने सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    विद्यालयमा रहेका क्वारेन्टिन हटाउने सरकारले निर्णय गरेको र अन्तर्राष्ट्रिय उडान समेत खुल्ने परिस्थितिलाई मध्यनजर गरी क्वारेन्टिन सम्भव भए हालकै क्षमतामा नै सञ्चालन ल्याउने नभए प्रत्येक स्थानीय तहले कम्तिमा ५० शैय्याको क्वारेन्टिन निर्माण गर्ने निर्णय बैठकले गरेको छ । “सो पनि गर्न सम्भव नभएमा नजिकका स्थानीय तह वा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी क्वारेन्टिन विकास गर्दै जाने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।

    कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा जिल्लाभित्र आउने र जिल्ला बाहिर गई पुनः फर्की आउने मानिसहरुबाट कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढी हुने हुँदा स्थानीय तहबाट सवारी पास सिफारिस गर्दा जिल्ला बाहिर जाने र आउने व्यक्तिको निगरानीलाई प्रभावकारी र अति आवश्यक र जरुरी भएका मानिसहरुलाई मात्र सवारी पास सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

    कोभिड–१९ को जोखिम बढिरहेको र अन्य जिल्लाको सङ्क्रमण समेतलाई मध्यनजर गरी तनहुँ जिल्लामा पनि थप आइसोलेशन कक्ष र भेन्टिलेटर आवश्यक पर्ने सम्भावनातर्फ समयमै सजगता अपनाउने निर्णय भएको छ ।

    बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ लगायत उपस्थित हुनुहुन्थ्यो ।