तनहुँ : बुधबार तनहुँमा तीन जना कोरोना सङ्क्रमित थपिए । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा शुक्लागण्डकी नगरपालिका–४ का २९ वर्षीय र व्यास नगरपालिका–३ का ३८ वर्षीय पुरुषमा सङ्क्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत विहान जानकारी गरायो । सङ्क्रमित दुवै जना समुदायस्तरका हुन् । शुक्लागण्डकीका सङ्क्रमति एक डिपार्टमेन्टल स्टोर्समा कार्यरत रहेको खुलेको छ । व्यासका सङ्क्रमित भने प्रहरी हुन् ।
यस्तै दिउँसो सार्वजनिक गरिएको विवरणमा देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमित उनी देवघाटस्थित एक आश्रममा कार्यरत छन् । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरेर क्वारेन्टिनमा राखिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
पछिल्लो साता तनहुँमा थपिएका कोरोना सङ्क्रमित सबैजसो समुदायस्तरका हुन् । समुदायमा पनि नियमित धेरै जनासँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिमा सङ्क्रमण हुँदा जताततै फैलिएको आशङ्का गर्न थालिएको छ । सुस्त–सुस्त तरिकाले जिल्लाका विभिन्न स्थानका समुदायस्तरमा कोरोना फैलिएपछि खतराको घण्टी बजेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । “जोखिम बढ्दै जाँदा स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको दायरा बढाएका छन् । जनचेतना फैलाउने काम पनि भईरहेको छ,” उहाँले भन्नुभयो । समुदायस्तरमा सङ्क्रमण फैलन थालेकाले सजगता अपनाउन उहाँको सुझाव छ ।
पछिल्लो समय साउन २६ गते भानु नगरपालिकाका–१ का ३४ र बन्दीपुर गाउँपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । दुवै जना निर्माण व्यवसायी हुन् । उनीहरुलाई सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा भानुमा २३ जना समुदायका व्यक्ति थपिए । त्यसलगत्तै देवघाटमा तीन जना, व्यासमा सात र शुक्लागण्डकीमा एक जना समुदायका व्यक्तिलाई कोरोना पुष्टि भएको छ । तीमध्ये देवघाटका दुई जना सङ्क्रमित बुधबार निको भएको गाउँपालिकाले जानकारी दिएको छ ।
तनहुँमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन नदिन पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । बुधबार मात्रै जिल्लाको भिमाद नगरपालिकाका सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाका वडा नं २ देखि ९ सम्म र देवघाट गाउँपालिकाको वडा नं ५ मा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । गत सोमबारदेखि भानु नगरपालिकामा दुई साता र व्यास नगरपालिकामा एक साता लागु हुने गरी निषेधाज्ञा जारी भएको थियो ।