आँबुखैरेनीमा अपाङ्गता बालबालिकाको शिक्षाका लागि समावेशी विद्यालय सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा अपाङ्गता बालबालिकाको शिक्षाका लागि समावेशी विद्यालय सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८२, सोमबार

    दमाैली, २३ असार । तनहुँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि समावेशी विद्यालय सञ्चालनमा ल्याइएको हो ।

    शिक्षा सबैका लागि भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी आइतबारदेखि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयले फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधिमार्फत शिक्षा दिन सुरु गरेको विद्यालयका अध्यक्ष केपी अधिकारीले जानकारी दिए।

    विद्यालयमा हाल २५ जना अपाङ्गता भएका विद्यार्थी भर्ना भएका छन् र यसै महिना ४० जना पुग्ने अनुमान छ । हालको भौतिक संरचनाका कारण सम्पर्कमा आएका सबैलाई भर्ना गर्न नसकिएको भए पनि नयाँ भवन निर्माणसँगै थप बालबालिकालाई समेट्ने तयारी भइरहेको उनले बताए ।

    उनले भने, “यो विद्यालय अपाङ्गता भएका बालबालिकामात्र नभई जटिल र फरक प्रकृतिका आवश्यकता भएका विद्यार्थीहरूको लागि पनि सिकाइको साझा थलो हो । यहाँ शिक्षकहरूलाई समावेशी शिक्षा सम्बन्धी विशेष तालिम प्रदान गरिनेछ, जसले शिक्षा क्षेत्रमा कार्यरत मानव स्रोतलाई समावेशी शिक्षाको अनुभव र दक्षता प्रदान गर्नेछ ।”

    विद्यालयले शिक्षा मात्र नभई थेरापी सेवा, मनोपरामर्श सेवा तथा आधारभूत स्वास्थ्य उपचार सेवा समेत एउटै छानामुनि प्रदान गर्ने उनकाे भनाइ छ । विद्यालयले विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको छ । उनले भने “विद्यालय कुनै निजी पहल नभई सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित संस्था हो जसले शिक्षालाई हकको रूपमा व्यवहार गर्छ ।”

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले समावेशी विद्यालयलाई थप व्यवस्थित बनाइने उल्लेख गरे । उनले भने, “मित्रता अपाङ्गता समावेशी विद्यालय हाम्रो पालिकाको शिक्षामा समानता र सहअस्तित्वको स्पष्ट प्रतिबिम्ब हो । यो विद्यालयले केवल सिकाइ होइन, जीवन बदल्ने अवसरहरू प्रदान गर्नेछ । हामी यसलाई एसियाकै नमुना समावेशी शिक्षाको केन्द्रको रूपमा विस्तार गर्न प्रतिबद्ध छौ ।”

    अपाङ्गता भएका बालबालिकालाई अभिभावकसँगै विद्यालयको आवासमा राखी निश्चित समयका लागि अभिभावकलाई जीविकोपार्जन तथा अपाङ्गतामा आधारित सामुदायिक पुनः स्थापनामा जोड दिइने उनकाे भनाइ छ ।

    आँबुखैरेनी गाउँपालिका शिक्षा शाखा अधिकृत निर्मला कुवंरले समावेशी विद्यालय आँबुखैरेनीको मात्र नभइ जिल्ला, प्रदेश तथा नेपालभरकै बहुअपाङ्गता भएका सबै किसिमका अपाङ्गता बालबालिकालाई लक्षित गरी स्थापना गरिएको जानकारी दिइन् ।