


दमौली, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी व्यास नगर समितिले व्यास नगरपालिका-३ प्रशासन चोकमा रहेको पार्कको पूर्व राजाको शालिक हटाउन लागिएको भन्दै विरोध जनाएको छ ।
बुधबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्क व्यवस्थित गर्ने क्रममा पूर्व राजा महेन्द्रको शालिक यथास्थानमा कायम रहोस् र त्यहाँको जग्गा घटाएर पार्क निर्माण नगर्न आग्रह गरिएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामीले सुन्नमा आएको र आम जनतामा बीच बजारमा चलेका हल्ला अनुसार पार्क निर्माणका क्रममा उक्त शालिकलाई हटाउने र पार्कको क्षेत्रफल घटाएर निर्माण गर्ने सम्भावनाबारे पनि चर्चा भएको छ भन्ने कुरा बाहिर सुन्नमा आएको छ।’
सो स्थानमा पार्क निर्माण कार्य अगाडि बढिरहेको छ र त्यसका लागि आवश्यक १० लाख बजेट विनियोजन भइसकेको छ । ‘ सोही स्थानमा राजा महेन्द्रको शालिक पनि रहेको छ, जुन २०६२/६३ सालको जनआन्दोलनको क्रममा दर्भाग्यवस क्षतिग्रस्त भएको र करिब १८ वर्षपछि मिति २०८०/१०/३ मा राजा महेन्द्रको अर्धकट रहेको शालिकलाई आम तनहुँबासीको माग र तनहुँको मुटु प्रशासन चोक कुरुप रहेको हुँदा पुनःस्थापना गरिएको तथ्य सर्वविदितै छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

