


दमाैली, २२ भदाै । सामाजिक बन्द गर्ने निर्णय फिर्ता लिन माग गदै रास्वपा तनहुँले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले आइतबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई नागरिकको मौलिक हक, विचार अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदानप्रदानको प्रमुख माध्यम रहेको जनाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “कुनै पनि बहानामा यसलाई बन्द गर्ने निर्णय जनताको व्यवसाय सम्पर्क, शिक्षा लगायत विभिन्न सेवा र हकअधिकारमाथिको प्रत्यक्ष प्रहार हो । सरकारको यो कदमले आम नागरिकको व्यवसाय सञ्चालनमा समेत गम्भीर आघात पुगेको छ ।”
ज्ञापनत्रमा सामाजिक सञ्जालमा हुने दुरुपयोग रोक्ने तर अधिकार र लोकतन्त्र कटौती नहुने गरेर बहुअर्थी, अमूर्त प्रावधान बिनाका प्रष्ट कानुनी व्यवस्था सहितको सामाजिक सञ्जाल ऐन वृहत्तर छलफलबाट निर्माण गर्न, दुरुपयोग रोक्नका लागि नीतिमा आधारित, प्राविधिक र कानुनी उपायहरु अवलम्बन गर्न र भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन माग गरिएको छ ।