


दमौली, १९ मंसिर । तनहुँ जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत महिना परेको बेमौसमी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा धान उत्पादनमा क्षति भएपनि समग्र रुपमा धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।
यस वर्ष जिल्लामा ३५ हजार चार सय २२ दशमलब ४ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
जिल्लामा सावित्री, राम, सुख्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान लगाइएको परियारले जानकारी दिए ।
गत महिना परेको बेमौसमी वर्षाका कारण करिब रु एक करोड बराबरको धान खेतीमा क्षति पुगेको थियो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस वर्ष आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।
यस्तै आर्थिक वर्ष २०८०÷८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।
