


दमौली, १५ माघ । तनहुँको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा प्रणय दिवसको अवसर पारेर आयोजना हुन लागेको नेपथ्य कन्सर्टले सङ्गीतसँगै पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक पहिचान विस्तारलाई एकैसाथ जोड्ने लक्ष्य लिएको छ ।
खड्गदेवी बन्दीपुर युवा क्लबको आयोजनामा आगामी फागुन २ गते बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा उक्त कन्सर्ट हुन लागेको हो ।
बन्दीपुरलाई केवल प्राकृतिक सौन्दर्य र ऐतिहासिक नगरीका रूपमा मात्र नभई सांस्कृतिक तथा साङ्गीतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन उद्धेश्यसहित कार्यक्रम अघि बढाइएको संयोजक रवि श्रेष्ठले जानकारी दिए। यस किसिमका ठूला सांस्कृतिक कार्यक्रमले बन्दीपुरको पर्यटन मौसमलाई वर्षभरि चलायमान बनाउन सहयोग पुग्ने उनले बताए ।
प्रणय दिवसलाई पश्चिमी शैलीको भड्किलो उत्सवभन्दा फरक, सभ्य र सकारात्मक सामाजिक सन्देश बोकेको दिनका रूपमा मनाउने प्रयास गरिएको बताए । उनका अनुसार नेपथ्य जस्तो नेपाली मौलिकता बोकेको ब्याण्डलाई बन्दीपुरसँग जोडेर कन्सर्ट आयोजना गर्नुले युवा पुस्तालाई आफ्नो भाषा, संस्कृति र सङ्गीतप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
“नेपथ्य ब्याण्ड नेपाली समाजको दुःख, सङ्घर्ष, प्रकृति र राष्ट्रिय पहिचानलाई सङ्गीतमार्फत प्रस्तुत गर्ने सशक्त माध्यम हो,” श्रेष्ठले भने, “यस्तो ब्याण्डको प्रत्यक्ष प्रस्तुति बन्दीपुरमा हुनु मनोरञ्जन मात्र नभई पर्यटन, अर्थतन्त्र र सांस्कृतिक चेतनालाई एकैसाथ अघि बढाउने अवसर हो ।”
कन्सर्टमा करिब छ हजार सहभागी हुने अनुमान गरिएको छ । त्यसअनुसार सुरक्षाको व्यवस्थापन, यातायात, पार्किङ, स्वास्थ्य सेवा, सरसफाइ र आपतकालीन व्यवस्थालाई प्राथमिकतामा राखेर तयारी भइरहेको आयोजकले जनाएको छ । हाल कन्सर्टका लागि टिकट बिक्री कार्य जारी छ ।
आयोजकका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च टिकट बिक्री, प्रायोजक तथा सहकार्यबाट जुटाइनेछ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले नेपथ्य कन्सर्ट बन्दीपुरवासीका लागि गर्वको विषय भएको बताउँदै यसले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनका अनुसार बन्दीपुरले सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’ का रूपमा मनाएको छ भने सन् २०२६ लाई ‘ग्रामीण पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेको छ । यस्ता राष्ट्रिय स्तरका सांस्कृतिक कार्यक्रमहरूले उक्त अभियानलाई थप ऊर्जा दिने उनकाे भनाइ छ ।
प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र अब नेपथ्यको प्रत्यक्ष सङ्गीतसँग जोडिन लागेको बन्दीपुरले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण अझ बढाउने अपेक्षा बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।