


विषय प्रवेश
निर्बु गण्डकी प्रदेश तनहुँ जिल्लाको लगभग मध्यबिन्दुमा पर्ने भूभाग हो । अहिले यहाँ लगभग ५० देखि ६० भन्दा बढी घरहरु खण्डहरको रुपमा देखिन्छन् । राजश्री विमुखताले उजाडिएको तनहुँसुर र दमौलीको चकाचक देखेर निर्बुकोट स्वयं बीचमा बसेर टोलाइरहेको अनुभव अनुभूति मिल्ने गर्दछ । कुनै कालखण्डमा तनहुँ राज्यको राजधानी बन्दै गरेको र कहिले तनहुँ जिल्लाको सदरमुकाम राख्नका लागि छनौट भएको स्थानहरुमा निर्बुको नाम पहिलो सूचिमा आउने गर्दछ । आज यस लेखमा उही निर्बु र निर्बु सङ्गै साइनो जोडिएको माहिलो डाँडाको कुरा गर्नु पर्दा तनहुँको विगत देखि वर्तमान सम्मका ऐतिहासिक नालीबेली कोट्याउनै पर्दछ । तनहुँको विगत देखि वर्तमान सम्मको सम्झे सम्मको इतिहासलाई यहाँ सविस्तार सिउरिने प्रयास गरेको छु । आज भन्दा लगभग ४७२ वर्ष पहिला नै पाल्पाबाट अंशभाग लिएर चौबिसे राज्यको रुपमा उदाएको तनहुँ राज्य हालको तनहुँ जिल्ला , चितवन जिल्ला , स्याङजा जिल्ला , नवलपुर जिल्लाको केही भूभाग र भारतको विहार राज्यमा पर्ने चम्पारन जिल्ला अन्तर्गतको बेतिया राज्यको सिमाना सम्म फैलिएको राजपुर समेत पर्दथ्यो । पहाड, मधेश र तराइसम्म फैलिएको तनहुँ राज्य अन्य चौविसे राज्यहरु भन्दा धन, जन र जमिनले पनि सुसम्पन्न र एउटा शक्तिशाली स्वतन्त्र अधिराज्य भित्र पर्दथ्यो । सेनशासित तनहुँमा सेनवंशको शासन चल्दथ्यो । वि.सं. १६१० देखि १८४१ सम्म भृङ्गी सेन, हम्वीर सेन, त्रिविक्रम (तुला) सेन, दामोदर सेन, दिग्विजय सेन , कामराजदत्त सेन , त्रिविक्रम सेन (द्वीतिय) कामरीदत्त सेन र हरकुमारदत्त सेन समेत ९ जना सेनवंशी राजाहरुले तनहुँमा शासन गरेका थिए । वि.संं १६१० मा तनहुँ राज्य कायम रहंदाको बखत सम्ममा उत्तरमा रिस्ती र पाउँदी खोला, दक्षिणमा भारतको विहार राज्यको बेतिया सम्म, पूर्वमा बूढीगण्डकी र पश्चिममा सेती काली दाउन्ने र त्रिवेणी घाट हुँदै गङ्गा नदीसम्म तनहुँको सिमाना फैलिएको थियो । तनहुँका संस्थापक राजा भृङ्गी सेनले मस्र्याङ्दी देखि बूढीगण्डकी सम्मको शासन प्रशासन हेर्नका लागि तनहुँका सेनापति (खड्गाह) मानसिंह आले खड्का मगरलाई पठाइएको थियो । मानसिंह खड्का अली बढी नै महत्वकाँक्षी देखिने गर्दथे ।संस्थापक राजा भृङ्गीसेनको आनीबानी थाहा पाएका सेनापति मानसिंह खड््काले ऐन मौकाको सही फाइदा लिन कुटिल चाल चले । यही बेला तनहुँका राजकुमारहरु हम्वीर सेन र धर्माङ्गद सेन बीच चलेको सत्ता झिनाझपटीमा तनहुँको शासन प्रशासन व्यवस्था अत्यन्त अव्यवस्थित र तरल अवस्थामा देखिन्थ्यो । अव्यवस्थित शासन प्रणालीका कारण तनहुँले गोरखाको शासन प्रशासन धान्न नसक्दा महत्वाकाँक्षी मानसिंह खड्गाले आफैले आफुलाई गोरखाको राजा घोषणा गरी गोरखाको शासन प्रशासन चलाएका हुन् । लमजुङका राजा यशोब्रह्म शाहको मरणोपरान्त दाजु नरहरि शाहलाई लमजुङको राजगद्धी मिल्यो भने भाइ द्रव्यशाह लिगलिगकोटमा गाइ चराएर बसी रहेका थिए । तनहुँराज्यबाट अलग भइ सकेको तर गोरखा राज्यको जग मजबुत गरी नसकेको अवस्थामा गोरखा राज्य भित्रका गणेश पाण्डे , भागीरथ पन्त, नारायण अज्र्याल, गङ्गाराम राना, केशव बेहोरा , मूर्ति खवास र सर्वेश्वर खनालहरु समेतको सहयोगमा द्रब्य शाहलाई लिगलिगकोटको राजा हुँदै गोरखाको राजा बन्ने सुअवसर मिल्यो । गोरखा भन्दा तनहुँ ५ वर्ष पहिले स्थापना भएता पनि तनहुँँको हाँको डाँको भन्दा गोरखाको हाँको डाँको ठूलो देखिन्थ्यो । तनहुँ राज्यको स्थापनाकाल वि.सं.१६१० हो भने वि.सं. १६१५मा मात्र आएर द्रव्य शाहले गोरखा राज्य माथि आफ्नो प्रभुत्व कायम गरेका हुन भन्न सकिन्छ । बेलाबेलामा तनहुँले आफ्ना गुमेका मस्र्याङ्दी पारीका गाइखुर, च्याङलिङ, आँपपिपल लगायतका भूमिहरु पुनः आफ्नो अधीनमा लिइ दरौंदी सम्म सिमाना बिस्तार गरेको र तनहुँको यस कर्म प्रति असहमती राख्ने गोरखाले पुनः आफ्नो बनी सकेको भूमि फिर्ता गरेको इतिहास सुन्न र पढ्नमा पाइन्छ । गोरखाका नरेश रामशाहले देशमा अनेकौं सुधारका कार्य गरेर थितिरीति बसालेको पाइन्छ ।
तनहुँ राज्यको भूभाग खोसेर नयाँ राज्यको स्वरुप निर्माण गर्न बन्न पुगेको गोरखा राज्यले अन्ततः वि.सं. १८४१ सम्ममा आइपुग्दा भारतको बिहार राज्यमा अवस्थित रामपुर बाहेकका तनहुँसुर राज्यको पहाड खण्ड र चितवन खण्डको सम्पूर्ण भूभाग गोरखा राज्यमा बिलय भएको इतिहास साक्षी छ । हुन त तनहुँ राज्य गोर्खाली राजाहरुको ससुराली एवं मामाली देश पनि हो । तथापि दुइ देश बीचको रिस्तेदारी सम्वन्ध भएता पनि बेलबेलामा खटपट भइरहने गर्दथ्यो । साँच्चै भनने हो भने गोरखाका राजा रामशाहले तनहुँको चेलीसङ्ग वैवाहिक सम्वन्ध जोरेका थिए । रामशाहको प्रगतिमा तनहुँका राजा तुला सेनमा इष्र्या बढ्दै गयो । तनहुँले गोरखाको च्याङली धुवाँकोट गाइखुर र देउरालीमा आक्रमण गरी आफ्नो बनाए । गोरखाली सेनाले तनहुँकोट माथि आक्रमण गरी लुटपाट समेत गरे । गोरखाको राजा रामशाहको देहान्त पश्चात तनहुँका राजा दामोदर सेनले तनहुँमा खुसियाली मनाएको खवर गोरखा दरवारमा पुगे पछि गोरखाका राजा डम्वर शाहले तनहुँ माथि आक्रमण गरी तनहुँ राज्यलाई पुनः सवक सिकाएका थिए भन्ने गरिन्छ । वृहत राज्यको कल्पनाका साथ विजय अभियानमा अगाडि बढिरहँकोअवस्थामा नातागोता र रिस्ता लगायतका कुराहरु आकर्षित हुंदैनन् भन्ने गरिन्छ । हुन पनि देश विशाल बनाउने सवालमा आफ्नो र आफन्त भनेर माया गर्ने प्रचलन संसारमा प्राय कहीं पनि भेटिंएको छैन र हुँदैन पनि । गोरखाली नरेश पृथ्वीपति शाहको आफ्नै शासनकालमा युवराजधिराज वीरभद्र शाहको मृत्युले गोरखा दरवारमा हलचल ल्याउन पुग्यो । राजकुमारको मृत्यु हुँदा कस्लाई राजा बनाउने भन्ने विषयमा लविङ हुन पुग्दा द्वन्दले प्रश्रय पाउने देखियो । तथापि वीरभद्र शाहकी रानी तनहुँकी चेली मालिकावती शाहले माइती राज्य तनहुँमा नरभूपाल शाह नामक पुत्रलाभ गरेको खवर गोरखामा पुग्यो । चन्द्रप्रकाश शाहले चलाखीका साथ नाती नरभूपाल शाहलाई गोरखा दरवारमा दाखिला गर्दा दरवारमा खुसीको रौनकता थपियो तर यता तनहुँका राजा कामराजदत्त सेनले राजकुमार नरभूपाल शाहलाई ढाल बनाएर सर्लक्कै गोरखा राज्य हडप्ने कुविचारले धोका खाएको थियो । आखिरमा यस्तै यस्तै घटना र परिघटनाहरु तनहुँ र गोरखा बीच पटक पटक दोहोरिएको पाउँदछौं । सत्ताको झिनाझपटीमा यस्ता खेल सामन्य मान्ने प्रचलन नेपालको मात्र नभएर विश्वकै एउटै कुटिल संस्कृति हो भन्दा फरक नपर्ला । गोरखाका राजा पृथ्वीनारायण शाले भित्रीनी रानीको डोलीको झापन खोली अनुहार हेरेको निहुँमा तनहुँका राजा त्रिविक्रम सेनलाई पक्रेर नुवाकोटको कारागारमा थुनेर राखेका थिए । अन्ततः लामीडाँडाको स्वामित्व गोरखालीको हातमा सुम्पे पछि मात्र तनहुँका राजा कुमारीदत्त सेनलाई वि.सं.१८०१,मा मात्र नुवाकोट जेलबाट मुक्त गरेको इतिहाँस भेटिन्छ । राजा हरकुमारदत्त सेनको पालामा तनहुँले गोरखा राज्यबाट पटक पटक अपमान सहनु परेको तितो सत्य सबैका सामु छर्लङ्ग नै थियो । यिनै कारणहरुले गर्दा तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनको शासन अवधिमा तनहुँले आफ्नो राजधानी तनहुँसुरलाई सुरक्षाको दृष्टिकोणले निरन्तरता दिइ रहन नसक्दा तनहुँसुरको विकल्पमा तनहुँकै अभिन्न अङ्ग रहेको निर्बु, बन्दिपुर, हुस्लाङकोट, ,सोमेश्वरगढी र अन्त्यमा हालको बिहारमा अवस्थित रामनगरमा तनहुँसुरको स्थानमा राजधानी बनाइएका इतिहासहरु साक्षी छन् । वि.संं २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट डमौली सार्ने बेलामा सबै सरकारी कार्यालयहरु राखिने पहिलो स्थानको रोजाइमा ब्यास १ को माइलोडाँडा सबैको आँखा पर्न गएको थियो ।
निर्बु र माहिलोडाँडा खण्डहरमा परिणत हुन पुगेको दर्दनाक कथा
गोरखाको पटक पटककोआक्रमणबाट भयभित भएका तनहुँका राजा हरकुमारदत्त सेनले वि.सं.१८३६ सालमा तनहुँसुरमा रहेको राजधानी निर्बुकोटमा सार्ने निर्णय गरेका थिए । निर्बुमा राजधानी सार्दा सैनिकहरुलाई आवस्यक पर्ने राशन भण्डारण गर्र्न सकियोस भनेर तनहुँसुरले निर्बुमा गोदामघर निर्माणका लागि तत्कालै जग्गाको व्यवस्थापन गरेको पाउँदछौं जुन जग्गा अहिले पनि निर्बु पुग्दा गोदामटारको नामले प्रसिद्धि पाएको छ । तत्काललाई तनहुँसुरमा रहेको गोदाम घरलाई यथावत राखी निर्बुमा नयाँ गोदामघर र जंगीअड्डा निर्माण गर्ने घोषणा गरिएको थियो । राजाको आदेशानुसार राजदरवार, जङ्गी अड्डा र गोदामघर निर्माणका लागि तनहुँ राज्यका सबै गाउँबस्तीमा अनिवार्य झारा (सहयोग) बोलाएको थियो । राजाको आदेशानुसार हरेक गाउँका प्रजाहरु पालै पालो निर्बुमा झाराको लागि ओइरो लागेको थियो । राजाको आदेशलाई शिरोधार्य गर्दै प्रजाहरुले दिनभर काम गरे । एक दुइ हप्तामै काम सम्पन्न हुने कुनै छांटै देखिएन । तैपनि औलमय निर्बुमा सांझ अबेर सम्म प्रजाहरुले काम गरेर आ—आफ्ना घरमा फर्कने गर्दथे । एक दिन तनहुँ सुरका हटियाका नेवारहरुको पनि पालो प¥यो । झमक्क सांझ प¥दा सम्म नेवारे ठिटाहरुले कामलाई निरन्तरर्ता दिइ नै रहे । जोड तोडका साथ काम नसिद्धिदै रात पर्र्दै गयो । लेकमा बसेका तनहुँसुरे पासाहरुलाई रातको बसाइमा औलरुपि निर्गु राक्षसले अंट््ठाउन थाल्यो । तनहुँसुरकै लामपाटे माइला कृष्णलाल श्रेष्ठले सबै मनुहरुलाई“ए डव्याट,मस्ता छमाछमाके छमाछमाके छुमाछमाके अर्थात एक एक जना गरेर निर्बुबाट भागी हाल भन्ने आदेशात्मक शब्द गुञ्जाउन पुग्यो । तत्कालै तनहुँसुरे नेवारे ठिटाहरु निर्बुबाट कुलेलम भागेर तनहुसुर तर्फ दौडिए । तनहुँसुर गद्धीचौतारामा पुगेका नेवार ठिटाहरुले अब त बाँचियो भनेर खुब खुसी मनाए रे । बांचेको उपलक्षमा गद्धीचौतारा नजिकैको मैदानमा नेवारहरुले एउटा नाँच लगाए रे । सायद त्यही नाँचनै देवीनाँचको सुरुवात थियो भन्ने जनश्रुति रहेको छ । तनहँुसुर हटियामा कहिले देखि देवीनाँचको सुरुवात भयो एकिन मिति तोकेर त यसै भन्न सकिंदैन तथापि देवीनांच निर्बु घटना सङ्ग प्रत्यक्ष सम्बन्ध रहेको कुरामा तनहुँुसुरका बखतनारायण श्रेष्ठ र मोतीकुमार श्रेष्ठ लगायत तनहुँसुरका सबै नेवारहरुको ऐक्यबद्धता रहेको पाइयो ।
औलरुपि यस निर्गुनी ठाउंवाट सोही साल निर्बुबाट पुनः तनहुंसुरमा जङ्गीअड्डा सारिएको कुरा धर्मराज थापाले आफ्नो तनहुंको फुलवारीमा उल्लेख गर्नुभएको छ । निर्गुनी बाट निर्गु हुंदै यस ठाउंको नाउं निर्वु हुन गएको हो भन्ने यहांको बासिन्दाहरुको भनाइ रहेकोछ ।
तनहुँसुरका पहिले देखि सञ्चालनमा रहेका र वि.सं. १८३६ मा सैनिकहरुको लागि आवस्यक अनाज राख्न निर्बुमा बनाइएको गोदामघर र जङ्गी परेडका घरहरु मुसा लागेर त्यसै खण्डहर बनेको भने होइनन् । नभन्दै वि.सं. १९४६ देखि १९५० को आसपासमा निर्बु निवासीहरु सबैलाई निगुनी औलले गाँज्यो । औलकै कारण निर्बुवासी अधिकाँश थामे अधिकारीहरु एकएक गरी अन्यत्र नै बसाइ सरे । वि.सं. २००७ सालमा निर्बु गइ बसोबास गर्न चाहनेहरुलाई विगतको सबै तिरो भरो माफ गरी निर्बुमा बस्ती बसाउन उत्प्ररित गरियो तर कोही पनि निर्बु निवासीहरु निर्बुमा फर्केर बस्ने हिम्मत गरेनन् । सरकारी चासोको कमीले गर्दा राज्यको सम्पतीको रुपमा रहेका निर्बुको गोदाम घर, जङ्गी परेड घर र टुंडीखेल आज व्यक्तिको नाम दर्ता भइसकेका पाउँदछौं ।
वि.सं. १९८० सालमा गल्बु रोकुमकोटको समिममा रहेको रानीवनमा ठूलो आगालागि भयो । आगालागिमा इमानसिंह (भक्तबहादुर) बस्न्यात आफ्नो सासुआमालाई आगालागिबाट बचाउन घरभित्र जाँदा पिंढीको पाली खसेर सासु आमा सङ्गै आफै पनि आगालागिमा परेर दिवंगत हुन पुगे । जङ्गलको माझमा रहेको गल्बुरोकुम थुममा हरेक वर्ष आइरहने आगोको जगजगीलाई बाइबाइ गर्न गल्बु रोकुम थुमका वासिन्दाहरु आफ्नै बेसीमा रहेको माहिलो डाँडामा बसाइ सर्न पुगे । माहिलो डाँडोमा घर बनाइ बसेका बस्न्यात र घर्ती परिवारका हरेक सदस्यहरुलाई वि.सं. २००५ साल देखि नै औंलले समायो । मानिसहरुको मृत्युको संख्या बढदै जाँदा माहिलो डाँडा निवासीहरु वि.सं. २००६सालमा गुंदीफच्याङ पर्वत श्रृङ्खलामा अवस्थित आँपस्वाँरामा बसाइ सर्न पुगेको तितो सत्य हो । नेपाल सरकारले औल उन्मोलन गरे पछि तिनै परिवारहरुले गल्बुवेसी र रतौली—खकौलीमा बसोबास बसाएका हुन् । अहिले आएर तिनै निर्बु र माहिलो डाँडो सदरमुकाम विहिन स्थल बनेर ओझेलमा पर्न गएका छन् भन्दा फरक पर्दैन ।
बेला बखतका घटना —परिघटना
वि.सं. १८०१ मा तनहुँका राजा त्रिविक्रमसेनलाई ज्यामिरे घाटमा बोलाई पृथ्वीनारायण शाहकी भित्रिनी रानी चढेको डोलीको झापन खोली रानीको अनुहार हेरेको निहुँमा गोरखाका राजा पृथ्वीनारायण शाहले लामीडाँडाको सर्वाधिकार गोरखालाई सुम्पिए पछि मात्र तनहुँका राजा त्रिविक्रम सेनलाई नुवाकोटको कारागारबाट मुक्त गरेका थिए । बि.् सं.१८१०मा त्रिविक्रम सेनले तनहुँमा इसाई मिसिनरीका पादरीहरुलाइ धर्म प्रचार प्रसार गर्ने निम्ता दिएर गोरखालाई तनहुँ माथि आँखा नलडाउन नैत्तिक दबाब हाल्ने प्रयत्न पनि गरेकै पाइन्छ । त्यही बेला तनहुँका राजा कामरीदत्त सेनले आफ्ना सौतनेभाइ हरकुमारदत्त सेनलाई बन्दीपुर खण्ड , विचित्र सेनलाई चितवनको मधेश खण्ड र कान्छोभाइ जानकीदत्त सेनलाई राजपुर खण्डको प्रशासक तोकेर पठाएका थिए । बन्दीपुर रहंदा बस्दा हरकुमारदत्त सेनले गोर्खाली सेनालाई उक्साइ तनहुँ माथि आक्रमण गर्न उत्प्रेरित गरेको प्रसङ्ग भेटिंदा गोरखाको राजकुमार चन्द्ररुप प्रभृतिको विरुद्ध गएको पाइन्छ । वि.सं. १८२७ सालको फागुन ११ गतेका दिन तनहुँको मनपाङमा, १२ गतेका दिन छाङमा र २२ गतेका दिन मनपाङकै दुरुङचुङमा गोर्खाली सेनाले आक्रमण गरेका थिए । १८२८ फागुन २३ गतेका दिन केहेरसिंह बस्न्यातले नेतृत्व गरेको सैनिक टोलीले राम्चे धरम्पानी जारकाटे गोरेटो मार्ग, वाइस सिढीं चौतारा हुँदै तनहुुँसुर र परशुराम थापाको टोली बाङ्गेरह ,बारीफाँट, लादीखोला, भगवतीपानीको बाटो हुँदै रानीस्वाँरा एवं चण्डेनी भञ्ज्याङ हुँदै तनहुँसुर र वंशराज पाण्डेको टोली तनहुँको चुँदी टुहुरेपसल, सिम्पानी, कुसुमपानी हुँदै तनहुँसुर दरवार तर्फ अगाढि बढीरहेका थिए । यसरी गोरखाली सैन्य टोलीले तनहुँसुरलाई तीनतिरबाट घेरेर स्वतन्त्र तनहुँ राज्य माथि धावा बोलेका थिए । यसरी गोरखाली सेनाहरुले तनहुँसुरको दरवारलाई तीनै दिशाबाटै घेर्न पुगेका थिए । गोरखालीको मारलाई छल्दै भाग्दै गरेका राजा माथि गोरखाली सेनाले गोली चलाएका थियो । हृदयमा गोली लागेर घाइते भएका राजा कामरीदत्त सेनलाई औषधी मूलो गराउनमा सहयोग पुराउनु पर्नेमा तेजमान नेवार प्रबृत्तिले राजा रहे देश रहन्छ भन्न्ो विषयमा एकरति नसोची नेवा समाजले राजालाइ सापटी दिएको ऋण रकम तुरुन्तै चुक्ता गरी दिन बाध्य पारेको तितो इतिहाँस भेटिन्छ । अन्ततः त्यही गोरखाली सिपाहीको गोलीले वि.सं.१८२८ मा तनहुँका राजा कामरीदत्त सेनको मृत्यु हुन गयो । राजा कामरीदत्त सेनको मरणोपरान्त गोरखाली सेनाले तनहुँलाई आफु भित्र विलय नगराई मामावली घर गुल्मीमा रहेका तनहुँकै राजाका माहिला भाई राजकुमार हरकुमारदत्त सेनलाई तनहुँको गल्बुबेसी नजिकको कमलडिहीको समिपमा रहेको माहिलो डाँडोमा गोरखाको अधीनतामा रहने गरी गोरखाका प्रथम काजी माहिला वंशराज पाण्डे , सेनापति माहिला केहर सिंह बस्न्यात र सरदार माहिला परशुराम थापाहरुको रोहवरमा सपथ ग्रहण गराई हरकुमारदत्त सेनलाइ कठपुतली राजा घोषणा गरेका थिए । तनहुँमा गोरखाको छायाँ सरकार गठन हुन साथ ६०० जना तनहँुका सेनाहरुलाई आफनै गणमा समावेश गरेका थिए । पश्चिम नेपाल एकीकरण अभियानका सेनापति केहरसिंह बस्न्यात गृहकोटमा पुगेका थिए । गृहाकोटमा भएको लडाइमा तनहुँका सेनाले गोरखालाई धोका दिएको निहुँमा तनहुँका ९६ जना सैनिकहरुलाई लाइन लगाएर बस्न्यातले मृत्यु दण्ड दिएका थिए । यस मामलाले तनहुँ र गोरखाको सम्वन्धमा चिसो पस्यो । अचानक सतहुँमा भएको लडाइमा केहेरसिंह बस्न्यात सहित ५०० जना गोरखाली सैनिकहरुले सतहुँको युद्धमा वीरगती प्राप्त गरेका थिए । सतहुँको युद्धमा गोरखाको पराजय हुना साथ गोरखाले जितेका सबै चौविसी राज्य स्वतन्त्र हुन पुग्दा तनहुँ पनि स्वतन्त्र हुन पुगेको थियो । यस्तै यस्तै कारणहरुले गर्दा गोरखाली सेनाले तनहुँमा वि.सं.१८३० देखि १८४१ सम्म आफ्नो पूर्ण सम्प्रभुता कायम नगरेको हुनाले तनहुँलाइ अपराजित राज्यमा गनिन्थ्यो ।
अन्ततः वि.सं. १८३४को श्रावण ३ गतेका दिन गोरखा सरकारले तनहुँको चितवन तर्फको कविलासपुरमा आक्रमण ग¥यो । १८३४ श्रावण २६ गतेका दिन गोरखाले तनहुँको चितवन खण्डको सोमेश्वर गढीमा अक्रमण गरी गोरखाको अधिनमा लगेको थियो । पुनः १८३५ माघ ११ गतेका दिन गोरखाले तनहुँसुर माथि अचानक आक्रमण ग¥यो । गोरखाली सेनाको अगाडि तनहुँका सेनाको केही सीप लागेन । यही बेला तनहुँका राजा हरकुमारदत्त सेन तनहुँबाट भागेर पाल्पा पुगेका थिए । वि.सं. १८३५ चैत्र रोज ३ मा पाल्पा पर्वत र तनहुँको संयुक्त सेनाले तनहुँको पहाड खण्डलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । वि.संं १८३६ बैसाख १२ गतेका दिन दलमर्दन शाह, वन्धु राना, पारथ भण्डारी अम्वरसिंह राना जयकृष्णहरुले तनहुँको चितवन खण्डमा आक्रमण गरी गोरखा राज्यमा बिलय गराउन खोजेको अनुभूति मिल्दछ । पाल्पा र पर्वतको सहयोगमा तनहुँले आफ्ना गुमेका चितवन खण्डलाई पुनः वि.सं. १८३६ बैसाख १५ गतेका दिन आफ्नो अधीनमा ल्याउन सफल भएता पनि पुन गोरखाले चितवनको उपरदाङ गढीमा आक्रमण गरी आफ्नो अधिनमा लिएको पाइन्छ । तनहुँबाट गोरखाले छिनेको उक्त भूभागमा गोरखालीहरुको दिन प्रतिदिन अत्याचार बढदै गयो । तनहुँ लगायत चौबिसी राज्यहरुलाई गोरखाली सङ्गको पङ्गा महंगो सावित हुँदै गएकाले चौविसे राज्यहरु थुरथुर काँपेका थिए । साँध सिमाना जोडिएका तनहुँ र लमजुङ झन अत्यन्तै भयभित बन्न पुगेका थिए । यही बेला तनहुँका राजाले बन्दीपुरका बन्देकामीलाई बोलाएर खुँडा खुकुरी तरवार र तोप लगायतका हातहतियारहरु बनाउन लगाए । टाढै बाट आइरहेका शत्रुहरु मर्दन गर्न सकियोस भनेर आफ्नै नेपाली प्रविधिमा तोप पनि बनाउन लगाएको इतिहास हाल गोला भञ्ज्याङमा र तनहुँसुरको दरवार भित्र भेटिएका तोपहरु हाम्रो माझ साक्षी बनेर बसेको पाउँदछौं ।
यसैगरी चौविसे कालदेखि भन्सारमा रहेका भन्सार अड्डा र तनहुँको प्रशासनिक निकाय तनहुँबाट वि.सं.१९७५सालमा बन्दिपुर र तनहुँसुरमा रहेको जङ्गी अड्डा वि.सं.१९९४सालमा लप्टन धनबहादुर र महामुखिया सन्तबहादुर रानाले सरकारी निर्णयानुसार लमजुङ्गको कुन्छामा सारे पछि तनहुँसुर विना राज्यलक्ष्मीले छिन्न भिन्न बन्न पुगेको थियो । तनहुँका बासिन्दाले मायां मारे पछि अहिले तनहुँसुरको कन्तविजोग भएको छ ।
गोरखाली सेनाको आक्रमणको कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा आपसी छलफल गर्नका लागि वि.सं. १८३९ कार्तिक १७ गतेका दिन तनहुँका राजा हरकुमारदत्त सेन लमजुङका राजा वीरमर्दन शाहलाई भेटन लमजुङ गाउँ शहरमा पुगे । दुइ राज्य बीचको आपसी वार्ता समापन भइ ठोस रणनीति तय नहुँदै गोरखाली सेनाले अचानक चैत्र १८ गतेका दिनमा नै लमजुङको ताकुकोटमा आक्रमण गर्न पुग्यो । अन्ततः लडाईमा लमजुङले नराम्रो पराजय ब्यहोर्नु प¥यो । पराजय खेपेका लमजुङका राजा वीरमर्दन शाह र तनहुँका राजा हरकुमारदत्त सेन पनि गाउँशहरबाट मनाङडाँडा हुँदै लमजुङको राजपाठ छोडेर भागे । लमजुङका राजा मनाङडाँडा, करापुटार, कास्की हुँदै पर्वत पुगे भने तनहुँका राजा कर्पुटारबाट मादी तरेर मादी पारी पारी कास्कीको पोल्याङ, तनहुँको शिःसाघाट , साँगेफाँट , मानहुँ पाटनको बाटो समाउँदै मादी नदीमा जङ्गार तरेर केशवटारको बाटो बन्दीपुरको गोलडाँडामा पुगेर विश्राम लिएका जनश्रुति सुन्नमा पाइन्छ । राजा हरकुमार दत्त सेन तनहुँसुरबाट पलायन हुँदा पनि तनहुँसुरमा गोरखाको आधिपत्य कायम भइसकेको थिएन । वि.सं. १८३९ देखि १८४१ सम्म राजा हरकुमारदत्त सेन हुस्लाङकोटबाटै तनहुँ राज्यको शासन चलाएको अनुभूति मिलेका प्रशस्त प्रमाणहरु पाइन थालेका छन् ।
अन्त्यमा
तनहुँका राजा र लमजुङका राजाहरुको अनुरोधमा पर्वत र पाल्पाले लमजुङ तनहुँलाई सहयोग पुराउँदा वि.सं १८४१ को असार १० गते देखि १२ गते सम्म लमजुङको मकैडाँडामा भएको युद्धमा ८००० चौविसी सेना तर्फ र ८०० गोरखाली सैनिकहरुको नेतृत्व मूलकाजी अभिमानसिंह बस्न्यात,, चौतरिया दलजीत शाह र स्वरुप सिंह कार्कीहरुले गरेको कुरा नेपाली सेनाको सहायक रथि (जर्नेल) प्रेमसिंह बस्न्यातले मकैसिंहको युद्ध सम्बन्धि लेखमा व्यक्त गर्नु भएको छ । अभिमान सिंह बस्न्यातले नेतृत्व गरेको गोरखाली सेनाले चौविसे सेनालाई धुलो चटाए पछि पुन गुमेको राज्य पुनःप्राप्ति हुन सक्ने पूर्वाधार भेटन पुगे । तनहुँका राजा हरकुमारदत्त सेनका आफ्ना छोराहरु अनन्तप्रताप सेन, तेजप्रताप सेन र अमरप्रताप सेनलाई लिएर रामनगरतर्फ लागे । राजा हरकुमारदत्त सेन रामपुर पलायन भएकाले निर्बुले तनहुँको राजधानी बन्ने सुअवसर कहिल्यै प्राप्त गर्न सकेन । कर्महारा निर्वुलाई वि.सं. २०२५ सालमा तनहुँको राजधानी बनाउन नसकेता पनिः एक पटक तनहुँको जिल्ला सदरमुकाम बन्ने सौभाग्य जु¥यो तर त्यस मामलामा शनिदशा लागेर नै होला निर्बु आइसकेको तनहुँ जिल्लाको प्रशासनिक निकायहरु दमौलीको माहिलो डाँडोमा सार्ने भनियो । डमौलीको माहिलो डाँडोमा राख्ने भनेको सदरमुकाम बुल्दीखोला तरेर साँखरटारमा पुग्न वाध्य भयो । डमौलीको माहिलो डाँडोमा राख्न थयार गरिएको तनहुँको सदरमुकाम बुल्दी खोलामा डुङ्गा तरेर साखरटार पुग्दा पनि वारीको डमौलीलाई पारी पुग्दा उच्चारण विभेदले दमौली बनाएको इतिहास मोतिको मालामा स्व मोतीकुमार श्रेष्ठले सिउरिनु भएको छ ।
वि.सं. १९९२ देखि १९९४ सम्म तनहुँसुरको धान गोदाममा भाषा पाठशाला सञ्चालन गर्ने र २०५५ सालमा महिला शाक्षरता अभियान चलाउने तनहँुसुरका बुद्धिजीविहरुले अझै पनि समयमै ध्यान पु¥याउने हो भने सेनवंशीय राजधानी पर्यापर्यटनको राजधानी बनेर पुन तनहुँसुर गुल्जार नहोला भन्न सकिन्न । वि.सं.२०२४ सालमै तनहुँको बन्दिपुरमा रहेको सदरमुकाम बन्दीपुरबाट निर्बुको गोदामटारमा सार्ने प्रसङ्गले ठूलै महत्व पायो । एक पटक राजधानी बन्न लागेको निर्बुलाई न्याय नै मिल्छ भन्नेमा सबै सहमत देखिन्थे । नभन्दै घरको दलिनमा च्वाइसो पसे जस्तो भयो निर्बुलाई । तत्कालीन जिल्ला पञ्चायतका सदस्य बेलबहादुर अधिकारीले बन्दीपुरको सदरमुकाम निर्वुमा सर्न लागेको यथार्थ कुर। मोतीकुमार श्रेष्ठलाई बताएका थिए तर कुरा अन्त्यै मोडियो । वि.सं.२०२५ कार्तिक २८ गतेका दिन सरकारी कागजात लिन बन्दीपुर पुगेका ब्यास १ अम्रेनीका श्रीबहादुर गिरी छाङका वीरबहादुर मल्ल, थानसिङका धनेश्वरको टाउको फुटेको थियो भने थानसिंङ बाङ्ग्रेका निर्मल रानाभाटको घटनास्थलमै मृत्यु हुन पुगेको थियो । तत््कालै केही हुन नसके पनि गण्डकी अञ्चलका अञ्चलाधिश श्रीघननाथ शर्माले बन्दीपुरमा रहेका विभिन्न सरकारी कार्यालयका सरकारी कर्मचारीहरुलाई २०२५ साल मङसिर ५ गतेका दिन सम्म भादगाउँ चौतारामा सरकारी कार्यालय स्थापना गर्न आ—आफ्ना सरकारी कार्यलयका कर्मचारीहरुलाई महत्वपूर्ण अभिलेखहरु आफ्नै झोलाझाम्टामा राखि ल्याउन ठाडो आदेश दिइएको थियो । अञ्चलाधिस कार्यालयको आदेशानुसार सरकारी कर्मचारीहरुले तारेख पर्चा र सरकारी छाप आदि आ—आफ्नै साथमा राखेर भादगाउँको चौतारामा आएर सरकारी कार्यालय सञ्चालनको श्रीगणेश गरेका थिए । त्यही महिनाको मसिंर ६ गतेका दिन तनहुँ दमौली बजारका २६ घर धुरीका साहुमहाजन र अन्य ब्यक्तिहरु आपसमा सल्लाह गरेर बन्दीपुर पुगेर थप सरकारी श्रेस्ताहरु दमौली ल्याएर दमौलीमा सरकारी कार्यालयको विधिवत स्थापना गरेको पाउँदछौं ( श्रोत—मोतीको माला — मोतीकुमार श्रैष्ठ । यसरी निर्वुको गोदामटार र डमौलीको भादगाउँ माथिको माहिलो डाँडामा राख्ने भनिएका सरकारी कार्यालयहरु नेताको चलाखीले साँखरटार (हालको दमौली मा सरकारी कार्यालयहरुको स्थापना गरिएका हुन् । त्यसैलै निर्वु गोदामटार माहिलो डाँडो सरकारी भागभोगमा ठगिएका स्थानहरु हुन भन्न परेको छ । यसमा सबैको ध्यान पुगोस ।
अन्त्यमा सानै उमेरमा तनहुँका युवराज अनन्तप्रताप सेनको मृत्यु भएको हुनाले माहिला राजकुमार तेजप्रताप सेन पिता राजा हरकुमारदत्त सेनको मरणोपरान्त रामपुर राज्यको राजा बन्न पुगेका थिए । उनै राज तेजप्रताप सेनका तिलोत्तमा, लक्ष्मी ,श्रीकान्ता र तेजकुमारी समेत तीनवटी रानीहरु रहेकोमा तेजप्रताप सेनको मरणोपरान्त रानी तेजकुमारीलाई गध्दीको उत्तराधिकारीको कागजात बनाउँदा देवर अमरप्रताप सेन झुक्याइ राज्य त्याग गरेर देवरलाई उत्तराधिकारी सुम्पेको कागज बनाउँदा वि.सं. १८४३ मा चम्पारन स्थित रामनगरको राजा बन्न सफल भएका थिए । अस्तु । )