तालवेसी माविमा मतदानबाट नायक र सहनायक निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तालवेसी माविमा मतदानबाट नायक र सहनायक निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८३, शनिबार

    दमौली, २ जेठ । शुक्लागण्डकी नगरपालिका- ९ स्थित तालवेसी माध्यमिक वि‌द्यालयले शुक्रवार विद्यार्थीहरुबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक शत्र २०८३ को लागि नायक र सह नायक निर्वाचित गरेको छ।

    निर्वाचनमा नायक तर्फ लालिगुराँस चुनाव चिह्नका कक्षा ९ का विद्यार्थी कृष्ण थापा मगरले १८९ मत प्राप्त गर्दै विजय प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कक्षा ८ का विद्यार्थी सगरमाथा चुनाव चिह्नका तक्षक चापागाईले ९९ मत प्राप्त गरेका थिए । कुल ३०५ मत खस्दा १७ मत बदर हुन पुगेको थियो ।

    त्यस्तै सह नायक तर्फ गैडा चुनाव चिह्न लिएकी कक्षा ९ कि वि‌द्यार्थी काजल के.शि ले २०५ मत प्राप्त गर्दै विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्दी हात्ती चुनाव चिह्नकी कक्षा ८ की सन्ध्या सुनारले ७७ मत प्राप्त गरेकी थिइन् । सहनायक तर्फ कुल ३०२ मत खसेकोमा २० मत बदर हुन पुगेको थियो । उक्त निर्वाचन प्रक्रियामा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरु मतदाता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिए ।

    विद्यालयमा निर्वाचनको साप्ताहिक कार्यतालिका प्रकाशित गरि मनोनयन दर्ता देखि मतदाता शिक्षा, मतदान मतगणना र नतिजा घोषणा सम्मको कार्य लोकतान्त्रिक प्रक्रिया‌द्वारा गरिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी वि‌द्यार्थीहरुले नै गरेका थिए ।

    सामाजिक अध्ययन तथा जिवनोपयोगी शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धि विषयवस्तु रहेकाले आम वि‌द्यार्थीलाइ निर्वाचन सम्बन्धि शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सह नायक चयन गरिएको शिक्षक सुवास चापागाईले बताए ।

    वि‌द्यालयको अतिरिक्त क्रियाकलाप सञ्चालन, बालमैत्री बातावरण निर्माण, विद्यालयको योजनामा बालबालिकाको प्रतिनिधित्वको लागि समेत निकै सहज हुने हुँदा विगत ३ वर्ष अगाडिदेखि निर्वाचन प्रक्रिया‌द्वारा नै नायक र सह नायक चयन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले बताए ।