


दमाैली ११ जेठ । नेपाल मगर संघ केन्द्रीय समितिको १३औँ राष्ट्रिय महाधिवेशनबाट तनहुँका सिद्धान्त थापा मगर उपमहासचिव पदमा निर्वाचित भएका छन् । महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चयन भएपछि तनहुँसहित गण्डकी प्रदेशका मगर समुदायमा उत्साह छाएको छ ।
लामो समयदेखि मगर समुदायको हकहित, भाषा, संस्कृति तथा पहिचानको संरक्षणमा सक्रिय थापा मगर सामाजिक तथा संगठनात्मक क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी नेपाल मगर संघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष तथा नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्षसमेत हुन् । त्यस्तै हाल उनी नेपाल आदिवासी जनजाति महासंघ तनहुँका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
विभिन्न सामाजिक तथा सांस्कृतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापा मगरले मगर समुदायको अधिकार स्थापित गर्न, युवालाई संगठनमा जोड्न तथा भाषा–संस्कृतिको संरक्षणमा निरन्तर काम गर्दै आएका छन् । संगठन विस्तार र समुदायलाई एकताबद्ध बनाउन उनले खेलेको भूमिकाको कदर गर्दै महाधिवेशनले उनलाई केन्द्रीय उपमहासचिवको जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापा मगरले मगर समुदायको अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशभर रहेका मगर समुदायलाई एकताबद्ध गर्दै संगठनलाई थप सशक्त बनाउने आफ्नो प्राथमिकता रहने बताएका छन् ।