बाँदर आतंक नियन्त्रण गर्न ‘डमी बाघ’ उपयोगी हुने सांसद न्यौपानेको सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाँदर आतंक नियन्त्रण गर्न ‘डमी बाघ’ उपयोगी हुने सांसद न्यौपानेको सुझाव

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८३, बुधबार

    दमाैली १३ जेठ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले बाँदर आतंकका कारण किसानले भोगिरहेको समस्यालाई संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले किसानहरू बाँदरबाट अन्नबाली जोगाउन दिनभर खेतमा कुरुवा बस्न बाध्य भएको बताए । उनले बाँदरका कारण कतिपय किसान बसाइँसराइ गर्नेसम्मको अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

    “मेरो निर्वाचन क्षेत्रका एक किसानले आज फोन गरेर भन्नुभयो, बरु सडक र विकास निर्माण ढिला होस्, तर बाँदरबाट अन्नबाली जोगाइदिनुप¥यो,” सांसद न्यौपानेले भने, “यो केवल गुनासो मात्र होइन, खाद्य सुरक्षामाथिको गम्भीर सङ्कट हो ।”

    उनले तनहुँसहित पहाडी क्षेत्रमा बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिने अवस्था सिर्जना भएको भन्दै सरकारले तत्काल प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

    सांसद न्यौपानेले शुक्लागण्डकी नगरपालिका–२ का किसान पहलसिंह गुरुङको सुन्तलाबारीमा गरिएको प्रयोगको उदाहरणसमेत संसदमा प्रस्तुत गरे । उनका अनुसार गुरुङले सुन्तलाबारीमा “डमी बाघ” राखेपछि बाँदरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाएका थिए ।

    “सुन्तलाबारीमा डमी बाघ राख्दा बाँदर आउँदै आएन,” उने भने“दोस्रो वर्ष भने डमी बाघको स्थान परिवर्तन गर्नुपरेछ । जहाँ बाघ बस्छ, त्यहाँ बाँदर बस्दैन भन्ने अनुभव किसानले गरेका छन् ।”

    चलायमान डमी बाघ प्रणाली प्रभावकारी हुन सक्ने उल्लेख गर्दै सांसद न्यौपानेले बाँदर नियन्त्रणका लागि आधुनिक र वैज्ञानिक उपाय अपनाउनुपर्ने बताए ।

    “बाँदर मार्ने होइन, वैज्ञानिक रूपमा नियन्त्रण गर्ने नीति आवश्यक छ,” उनले भने, “सरकारले बाँदर व्यवस्थापन नीति ल्याओस्, डमी बाघ प्रणाली सञ्चालन गरियोस् र किसानलाई राहत दिने कार्यक्रम अघि बढाओस् ।”