


दमौली, १५ जेठ। व्यास नगरपालिका-३ स्थित बाराही आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको मुटु स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विशेषज्ञ मुटुरोग चिकित्सक (कार्डियोलोजिस्ट) को उपस्थितिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको मुटु जाँच, रक्तचाप परीक्षण, इसिजी तथा स्वास्थ्य परामर्श प्रदान गरिएको विद्यालयले जनाएको छ ।
सो अवसरमा आठ सय जना विद्यार्थीको मुटु परीक्षण गरिएको छ । बालबालिकामा मुटुसम्बन्धी सम्भावित समस्या समयमै पहिचान गरी आवश्यक सुझाव दिन कार्यक्रम उपयोगी भएको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।