तनहुँ : तनहुँको देवघाट क्षेत्र विकास समितिले आस्थाका आधारमा कर्मचारीलाई कारवाही नगरेको स्पष्ट पारेको छ । नेपाली काङ्ग्रेस देवघाटले बुझाएको ज्ञापनपत्र सम्बन्धमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै समितिले आस्थाका आधारमा समितिका कुनै पनि कर्मचारीलाई कारवाही नगरेको प्रष्ट पारेको हो ।
क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले अनुशासन र कार्य सम्पादक मूल्याङ्कनका आधारमा हुने कारवाही बेग्लै सन्दर्भ भएपनि आस्थाका आधारमा कारवाही गरेको आफ्नो जानकारी नभएको बताउनुभयो । क्षेत्र विकास समितिको कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र मातहतका कर्मचारीहरुलाई कुनै पनि स्थानमा तहगत जिम्मेवारी दिई कामकाजमा खटाउन सक्ने समितिले जनाएको छ ।
“देवघाट क्षेत्र विकास समितिबाट राम्रा कर्मचारीहरुलाई दुरुत्साहन र खराबलाई प्रोत्साहन भएको छ भन्ने भनाई सफेद झुट कुरा हो, यति कमजोर नैतिक धरातलमा विद्यमान समिति उभिएको छैन, समर्पित कर्मचारीहरु निरन्तर प्रोत्साहित भइरहेका छन्,”समितिले निकालेको विज्ञप्तीमा भनिएको छ ।
देवघाट क्षेत्र विकास समिति सुशासनका आधारभूत सूचकहरुमा पूर्ण प्रतिबद्ध रहेको बताउँदै समितिको आर्थिक क्रियाकलापको महालेखा परीक्षकको कार्यालयबाट भएको बेरुजु परीक्षणमा बेरुजु शुन्य रहेको जानकारी गराइएको छ ।