


दमौली, ११ असार । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी सहायक निरीक्षक (असई) दिपा खत्रीलाई जेठ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागू गरेको “उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१” बमोजिम गरिएको मूल्याङ्कनका आधारमा खत्रीलाई उक्त सम्मान प्रदान गरिएको हो। संगठनले दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक दक्षता र सुझबुझका साथ निर्वाह गरेको मूल्याङ्कनपछि उनी उत्कृष्ट प्रहरीका रूपमा छनोट भएकी हुन्।
हाल जिल्ला प्रहरी कार्यालय तनहुँको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत खत्रीले लैङ्गिक हिंसा, घरेलु हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा पीडितलाई न्याय दिलाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी छन्। साथै हराएका व्यक्तिहरुको खोजतलास, उद्धार तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराध न्यूनीकरणमा समेत उनको सक्रियता उल्लेखनीय रहेको प्रहरी कार्यालयले जनाएको छ।
खत्रीले अनुसन्धान तथा सेवामूलक कार्यसँगै समुदायस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएकी छन्। उनले विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, विद्यालय, समुदाय र टोल–टोलमा पुगेर स्थानीय नागरिकसँग समन्वय गरी लैङ्गिक हिंसा, बालअधिकार, साइबर अपराध, घरेलु हिंसा तथा सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउन तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवर्द्धनमा पुर्याएको योगदानलाई समेत मूल्याङ्कनको आधार बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।