तनहुँमा सर्च एण्ड स्विप अपरेसन : ११ जना नियन्त्रणमा, ७ जनामाथि अनुसन्धान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्विप अपरेसन : ११ जना नियन्त्रणमा, ७ जनामाथि अनुसन्धान जारी

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८३, शुक्रबार

    दमौली, १२ असार । तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रण लगायतका उद्देश्यका साथ सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको थियो।

    उक्त अभियानका क्रममा नियन्त्रणमा लिइएका ११ जनामध्ये अनुसन्धानपछि कुनै संलग्नता नदेखिएका ४ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ। बाँकी ७ जनामाथि भने आवश्यक अनुसन्धान भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अपरेसनलाई निरन्तरता दिइएको बताए।

    उनले भने, लागुऔषध, चोरी, फरार प्रतिवादी, अवैध गतिविधि तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत दोहन नियन्त्रणका लागि सर्च एण्ड स्विप अपरेसन नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। नियन्त्रणमा लिइएका व्यक्तिमाथि कानुन बमोजिम अनुसन्धान भइरहेको छ। शान्ति सुरक्षा कायम गर्न प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि थप प्रभावकारी रूपमा निरन्तरता दिनेछ।”

    प्रहरीले नागरिकलाई कुनै पनि शंकास्पद गतिविधि वा आपराधिक घटनाको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना दिन समेत आग्रह गरेको छ।