


काठमाडौ, २२ असार । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हार बेहोर्दै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताएका छन्। न्यु जर्सीमा सम्पन्न खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्।
विश्वकपअघि नै चोटका कारण सुरुआती खेल गुमाएका नेयमारले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार क्रमिक रूपमा टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए।
ब्राजिलका लागि उनको अन्तिम अन्तर्राष्ट्रिय गोल पनि नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत आयो। तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा टिकाइराख्न त्यो पर्याप्त हुन सकेन।