


दमौली, २ साउन । तनहुँ प्रहरीले जिल्लाभर सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेशनका क्रममा २५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका शुक्रबार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति–सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रणलगायतका उद्देश्यले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा २५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। यस्ता सर्च एण्ड स्विप अपरेशनलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरी जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउने प्रहरीको तयारी रहेको छ।