साउनकाे साेमबार देवघाटमा भक्तजन न्यून
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साउनकाे साेमबार देवघाटमा भक्तजन न्यून

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८३, सोमबार

    चितवन, ११ साउन । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्यून देखिएको छ ।

    भगवान् शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्त्व रहेको शास्त्रहरूमा उल्लेख छ । धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।

    देवघाटलाई एक पुण्य क्षेत्रका रूपमा लिइने हुनाले यहाँ हरेक वर्ष हजारौँको संख्यामा भक्तजनहरू स्नानका लागि आउने गर्दछन् । शास्त्रहरूमा ‘नदी तीर्थे कमा दानम्’ अर्थात् नदी किनारमा गरिने स्नान र दानले मानिसलाई कर्मबन्धनबाट मुक्त गराउने उल्लेख गरिएको छ ।

    यद्यपि, यस वर्ष विगतका वर्षहरूको तुलनामा देवघाटमा भक्तजनहरूको उपस्थितिमा केही कमी देखिएको स्थानीय बताए । अघिल्ला वर्षहरूमा साउनको सुरुवाती सोमवारदेखि नै श्रद्धालुहरूको व्यापक घुइँचो हुने गरेकोमा यस पटक भने त्यो स्तरको जनसहभागिता नदेखिएको स्थानीय जानकारहरू बताउँछन् ।

    साउन महिनाका दुई वटा सोमवार व्यतीत भइसकेका छन् भने अब दुई वटा सोमवार बाँकी नै रहेकाले आगामी दिनमा भक्तजनको सङ्ख्या बढ्न सक्ने अपेक्षा गरिएको छ । पछिल्लो समय सञ्चार माध्यमहरूको विकासले गर्दा घरघरमै बसेर तीर्थस्थलहरूको महिमा र जानकारी प्राप्त गर्न सहज भए पनि प्रत्यक्ष तीर्थाटनको आफ्नै विशिष्ट महत्त्व रहेको छ ।

    शास्त्रले तीर्थस्थलमा पाइला टेक्नुलाई मात्रै पनि पुण्य र मुक्तिको मार्ग मानेको सन्दर्भमा भक्तजनहरू गेरुवस्त्र धारण गरी देवघाट पुग्ने क्रम जारी छ । नदीमा स्नान गर्ने र पवित्र स्थलको दर्शन गर्ने परम्परालाई धर्मशास्त्रले अटल सत्यका रूपमा व्याख्या गरेको छ ।

    प्रतिकूल मौसम वा अन्य कारणले केही भक्तजनको उपस्थितिमा कमी देखिए पनि देवघाटको धार्मिक गरिमा र साउन महिनाको महिमाप्रति जनविश्वास भने यथावत् रहेको छ ।