


काठमाडाै ११ साउन । सुनसरीको देवानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्लाका सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। तर झडप हुँदा जिल्लाका दुवै सुरक्षा निकायका प्रमुख र प्रदेश प्रहरी प्रमुख कार्यस्थलमा अनुपस्थित रहेको खुलेको छ।
स्रोतका अनुसार घटनाका बेला जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवे बिदामा थिए। त्यसैगरी, सशस्त्र प्रहरी बल सुनसरीका एसपी श्यामकुमार कार्की केही दिनअघि नै प्रधान कार्यालय पुगेका थिए। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे पनि बिदामा रहेको स्रोतले जनाएको छ। यस्तो अवस्थामा जिल्लाको सुरक्षा संयन्त्र नेतृत्वविहीनजस्तै बनेको भन्दै सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ।
सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई पनि प्रधान कार्यालय फिर्ता बोलाएर उनको ठाउँमा एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरिएको छ। साथै, सशस्त्र प्रहरी बल, कप्तानगञ्जका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाई प्रधान कार्यालयमा कार्यरत डीएसपी मदननाथलाई खटाइएको छ।
आइतबार राति देवानगन्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका पाँच जना गरी २४ जना घाइते भएका छन्।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।