शहीद पार्क निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    शहीद पार्क निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७७, शनिबार

    तनहुँ/तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा शहीद पार्क निर्माण शुरु गरिएको छ । मझुवा ओख्ले सामुदायिक वनमा शहीद पार्क निर्माणका लागि फाउण्डेशन तयार गर्ने गरी काम शुरु गरिएको हो ।

    पार्क निर्माणका लागि भानु नगरपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख बजेट विनियोजन गरेपछि काम शुरु गरिएको पार्क निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिनुभयो । नगरपालिकाकै रु दश लाखको लागतमा गत आर्थिक वर्षमा पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको थियो ।

    विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको एक सय ५३ रोपनी जग्गामा राणा विरुद्धको आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदहरुको स्मृतिमा पार्क निर्माण गरिनेछ । डिपीआर अनुसार पार्क निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ । पार्कमा शहीदका स्मारक बाहेक, भ्युटावर (दृश्यवलोकन स्तम्भ), बालउद्यान, मनोरञ्जन उद्यान, चार सय जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक श्रष्टाहरुको स्मारक, फूलको बगैंचा, रेष्टुरेन्ट, सवारी पार्किङ स्थल लगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    पार्क निर्माणको लागि सर्वदलीय सहमति र सहभागितामा निर्माण समिति गठन गरिएको छ । सबै पार्टीहरुको साझा थलोको रुपमा र सबै आन्दोलनका शहीदहरुको सम्मान हुने गरी पार्क निर्माण गर्न लागिएको पार्क निर्माण समितिका सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य ओमकुमारी पौडेलले जानकारी दिनुभयो ।

    पार्क निर्माणको लागि मझुवा ओख्ले सामुदायिक वनले आफ्नो स्वामित्वको एक सय ५३ रोपनी जग्गा निर्माण समितिलाई भोगाधिकारको रुपमा उपलब्ध गराईसकेको छ । पार्कको भानु इन्जिनियरिङ कन्स्लटेन्सीले विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । पार्क निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिका अध्यक्ष विकले जानकारी दिनुभयो । पार्कमा शुरुवाती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदहरुको स्मारक राख्ने योजना भएपनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ ।

    पार्क निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदल मार्ग समेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गर्ने योजना रहेको छ ।