तनहुँ/व्यास नगरपालिका–३ निवासी अजित पन्थले जन्मदिन मनाउँदा हुने खर्च बचाएर आश्रममा खाद्यान्न सहयोग गर्नुभएकाे छ । जन्मदिन मनाउँदा हुने फजुल खर्च बचाएर पन्थले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई रु दश हजार बराबरको खाद्यान्न सामग्री सहयोग गर्नुभएकाे हाे ।
पन्थले उक्त सामग्री मङ्गलबार आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेलाई हस्तान्तरण गर्नुभयाे । अनावश्यक रुपमा फजुल खर्च गरेर भन्दा सामाजिक क्षेत्रमा सहयोग गरेर जन्मदिन मनाउन पाउँदा आफूलाई खुशी मिल्ने पन्थले बताउनुभयाे । आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जन्मदिनको अवसरमा धेरै व्यक्तिहरुले आश्रममा आएर सहयोग गर्ने गरेको जानकारी दिनुभयाे ।
विसं २०७१ वैशाख १ गते विधिवत् रुपमा दर्ता भई सञ्चालनमा आएको उक्त आश्रममा हाल ३ सय २५ जना महिला आबद्ध छन् । उक्त आश्रममा हाल ७ जना वृद्धवृद्धा छन् । महायज्ञ सञ्चालन गरेर बचेको रकमले आश्रमले दुई रोपनी जग्गा खरिद गरेको छ । आश्रमले भवन निर्माण गरेपनि आर्थिक अभावका कारण सम्पन्न गर्न नसकेको कोषाध्यक्ष अरुणा श्रेष्ठले बताउनुभयाे ।