थप सतर्कता जरुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    थप सतर्कता जरुरी

    गाेरा मियाँ

    ७ श्रावण २०७७, बुधबार

    कोभिड–१९ को महामारीले विश्वभरका देशहरुमा मानवीय जनजीवनको ठूलो क्षति हुन पुग्यो । कोरोना रोगका कारण हालसम्म पनि मानिसहरु त्रासपूर्ण जीवन बिताउन बाध्य छन् । यस रोगको रोकथाम र उपचार विधि पत्ता लगाउन नसक्दा विकास उन्मुख राष्ट्रहरुले मानवीय क्षतिको सामना बेहार्नु परिरहेको छ । हरेक देशले आफ्ना नागरिकलाई सुरक्षित राख्नका निम्ति विभिन्न उपाय अनुरुपको नीति अपनाउँदै सजग रहन आग्रह गर्दै आइरहेको छ । सबैखाले शक्ति र सम्पन्नताले भरिपूर्ण मुलुकहरुलाई समेत कोरोना भाइरसले घुँडा टेक्न बाध्य बनाएको छ । अहिलेसम्म पनि कोरोना भाइरसलाई निर्मूल पार्न सक्ने भ्याक्सिन प्रमाणित हुन सकेको छैन । यो घातक भाइरसले नेपाललाई पनि नराम्रोसँग प्रभावित बनाएको छ । कोरोना भाइरसलाई रोकथाम गरी देशका जनतालाई सुरक्षित गर्ने उद्देश्यका साथ गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो । सरकारले हरेक नागरिकलाई भाइरसबाट जोगिन स्वास्थ्य सामग्री प्रयोगमा सुसुचित गर्दै आइरहेको छ । त्यसकारण विदेशको तुलनामा संक्रमणको संख्या नेपालमा न्यून नै छ । राज्यको नीति पालना गर्दै अधिकांश नेपाली जनताले सामाजिक दूरी लगायतका सुरक्षाका उपाय अपनाउँदै आए । लामो समयका लागि भएको लकडाउनबाट छटपटिएका आम नागरिक आफ्नो दैनिकीतर्फ विस्तारै अगाडी बढ्न थालेका छन् । लगभग चार महीना पश्चात् सरकारले बुधबारदेखि लकडाउन फुकुवा गरेको छ । यद्यपि सरकारले लकडाउन पूर्ण रुपमा खुल्ला गरेपनि कोरोना भाइरसको जोखिम भने उत्तिकै छ । देशका सम्पूर्ण नागरिकले कोरोना कहर स्वदेश तथा विदेशबाट अन्त्यको घोषणा नभएसम्म सचेत बन्न जरुरी छ । यात्रा गर्दा भीडभाड नगर्नेदेखि हरेक कार्यक्रममा सामाजिक दूरी कायम गर्दै कोरोना भाइरसबाट बच्ने उपाय अपनाउनुपर्ने अहिलेको मुख्य आवश्यकता हो ।