टेलिकमको सिम कुन अवस्थामा बन्द हुन्छ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    टेलिकमको सिम कुन अवस्थामा बन्द हुन्छ ?

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    काठमाडौं । सामान्यतया टेलिकमको प्रिपेड सिमकार्ड खरिद गरेपछि सक्रिय गरेको १८० दिनसम्म प्रयोग गर्न सकिन्छ । त्यसपछि भने रिचार्ज गरेअनुसार सिमकार्डको अवधि थपिँदै जान्छ । उदाहरणको लागि ५० रुपैयाँ टपअप गर्दा ३० दिन, १०० रुपैयाँको रिचार्जमा ६० दिन, ५०० को रिचार्जमा एक वर्ष र एक हजारको रिचार्जमा दुई वर्षका लागि सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ । यदि तपाईंको सिममा न्यूनतम रकम अर्थात् एक पैसा पनि बाँकी छैन वा सिम प्रयोग गर्ने अवधि समाप्त भएको छ भने सेवा एकतर्फी हुनपुग्छ ।

    यसको अर्थ तपाईंको मोबाइलमा कल त आउन सक्छ तर अरुलाई कल गर्न भने सक्नुहुन्न । यसरी सेवा एकतर्फी भएको ३० दिनभित्र सिमकार्ड टपअप अर्थात रिचार्ज गर्नुभएन भने चाहिँ आउने कल समेत बन्द हुनपुग्छ । दुईतर्फी रुपमा सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम ‘फ्रोजन’ अवस्थामा पुग्छ ।

    फ्रोजन अवस्थामा पुग्नु भनेको तपाईको सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुनु हो । कुनै सिमकार्डमा सञ्चित रकम भए पनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएको हुनसक्छ ।

    यस्तो अवस्थामा समेत सिमकार्डको सेवा दुईतर्फी रुपमा बन्द हुन्छ । यसरी दुईतर्फीरुपमा सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र रिचार्ज गर्नुभयो भने पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि तपाईंले कति रुपैयाँको रिचार्ज गर्नु भयो त्यस अनुसार मात्रै कायम गरिन्छ ।

    यदि तपाईंको सिम कार्ड फ्रोजनमा गएको छ भने कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाईकल गरी नयाँ ग्राहकलाई बिक्री गर्न सक्छ । टेलिकमको पोस्टपेड मोबाइलमा भने नियम अलिक फरक छ ।

    यसमा सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (ड्यू अमाउण्ट) क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी हुन पुग्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्छ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल समेत जोडिँदैन ।

    सेवा एकतर्फी भएको ९० दिनसम्म ड्यू अमाउण्ट भुक्तानी गर्नुभएन भने दुईतर्फी रुपमा नै सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा गएको ९० दिनभित्र सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी सेवा पुनः सुचारुका लागि नजिकको दुरसञ्चार कार्यालयमा गएर वा फोन तथा ईमेलमार्फत जानकारी गराउनु पर्छ ।

    यदि तपाईंले सिम फ्रोजनमा गएको ९० दिनभित्र त्यस्तो रकम भुक्तानी गर्नुभएन भने सिम स्थायी रुपमा नै बन्द अर्थात टर्मिनेट हुन्छ । सिम टर्मिनेट अवस्थामा पुगेपछि १८० दिनभित्र ५६० रुपैयाँ रिकनेक्सन शूल्क भुक्तानी सोही सिम नम्बर प्रयोग गर्न सक्नुहुन्छ ।

    तर सिम टर्मिनेट भएको १८० दिनपश्चात भने कम्पनीले सिम रिसाइकल गर्नसक्छ । यसको मतलव कम्पनीले अन्य साधारण सिम सरह उक्त सिम बिक्री÷वितरण गर्न सक्दछ ।

    विदेशमा हुँदा के गर्ने ?

    यदि तपाईं रोजगारी वा अध्ययनका लागि विदेशमा हुनुहुन्छ भने आफ्नो सिमकार्ड रिसाइकल हुनबाट जोगाउन चाहनुहुन्छ भने त्यसको पनि विकल्प छ । त्यसका लागि तपाईंले विदेश जाँदा आफैंसँग लगेको सिम (पोस्टपेड तथा प्रिपेड) मोबाइल वालेट, अनलाइन बैंकिङ आदि माध्यमबाट रिचार्ज गर्न सक्नुहुन्छ ।

    यसरी अवधि थप गर्दै आफ्नो सिमलाई फ्रोजन वा टर्मिनेट हुने अवस्थाबाट जोगाइराख्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले रिचार्ज वा टपअप गरेको रकम समेत मोबाइलमा ब्यालेन्सको रुपमा रहिरहन्छ । तर पोस्टपेड मोबाइलको हकमा भने मासिक रुपमा रेण्टल चार्ज काटिँदै जान्छ । हाल टेलिकमको पोस्टपेड मोबाइलको मासिक रेण्टल चार्ज तीन सय रुपैयाँ रहेको छ ।

    techpana.com