सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरु सबै निको भएर घर गइसके । मंगलबार यी जिल्लामा संक्रमितको शून्य रहेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयाे । हाल कर्णालीका ७ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । डा. तिवारीका अनुसार सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।
प्रदेशमा सक्रिय संक्रमितको संख्या २ सय ११ जना रहे पनि संक्रमित केही व्यक्ति होम आइसोलेसनमा रहेका डा. तिवारीले बताउनुभयाे ।