विगत वर्षमा जस्तै नेपालीहरुको चाडपर्व हरेकको घर आँगनमा भित्रिदैछ । चार जात छत्तीस वर्णको साझा फूलबारी र थरी थरीका फूलहरुको आ आफ्नो सुगन्ध छ । यिनै फूलको बासनामा रमाउने सबै नेपालीहरु धेरै जातजाति, भाषाभाषी र कला संस्कृतिले भरिपूर्ण सम्पदता बोकेको संसारकै धनी देश हो । जुनसुकै चाडपर्वमा एकले अर्कालाई सघाउने, मिलीजुली पर्व मनाएर रमाउने साथै विविधतामा एकताको सुत्रगाठलाई बलियो बनाई राख्न सक्ने विश्वमाझ नेपालीहरु नै हुन् । जातीय सौहार्दताले सबै धर्म संस्कृतिलाई जोगाई राख्न ठूलो मद्दत पुगेको छ । सबै जातजातिका परम्परागत मनाइने चाडपर्व, कला संस्कृतिले आम नेपाली सामु विशेष महत्व राख्ने गरेको छ । नेपालमा दिनानुदिन बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट प्रत्येक दिन ज्यान गुमाउनेको संख्या बढिरहेको छ । यसरी नै दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै जाने हो भने देश महामारीको चपेटामा पर्ने निश्चित छ । यस्तो अवस्थामा सरकारले अन्य विषयलाई थाँती राखेर कोरोना भाइरसको रोकथाम र न्यूनीकरण गर्ने सबै उपायको खोजी गर्न सक्नुपर्छ ।
गत वर्षहरुमा चाडपर्व धुमधामका साथ सबै नेपालीले मनाउन पाएका थिए । महिला, बालबालिकादेखि सबै उमेर तहका व्यक्ति रमाइलो गर्न पाएका थिए । तर अहिले परिस्थिति बदलिएको छ । यो वर्षको चाडपर्व विगतका वर्षहरुमा जस्तो हुनेछैन । कोरोना कहरका कारण यस वर्षका चाडपर्व नरमाइलो हुने निश्चित छ । खानपिनमा समेत ध्यान पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो । चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षा सामग्री अनिवार्य रुपमा प्रयोग गरी संक्रमणबाट जोगिन चनाखो बन्न सक्नुपर्छ । सामाजिक दूरी कायम गर्ने साथै अत्यावश्यक सामग्री खरिदका लागि घरपरिवारमध्ये एक जना मात्रै सुरक्षित तरिकाले हिँडडुल गर्ने हो भने पक्कै कोरोनाको जोखिमबाट बच्न सकिन्छ ।