प्रशासनद्वारा व्यास र भानु नगरपालिका निषेधाज्ञा जारी (के गर्न पाइन्छ, के पाइँदैन)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनद्वारा व्यास र भानु नगरपालिका निषेधाज्ञा जारी (के गर्न पाइन्छ, के पाइँदैन)

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । समुदाय स्तरमा कोरोनाको जोखिम बढेपछि प्रशासन कार्यालयले साेमबारदेखि व्यास नगरपालिकामा एक हप्ता र भानु नगरपालिकामा दुई हप्ता निषेधाज्ञा जारी गरेको हो ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको साेमबार बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । प्रजिअ आचार्यका अनुसार व्यास नगरपालिकामा भदौ ७ गतेसम्म र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी भएको छ ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।

    निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

    तनहुँमा समुदाय स्तरका ३२ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा ५, देवघाट गाउँपालिकामा २ र बन्दीपुर गाउँपालिकाका १ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।