तनहुँ । तनहुँको व्यास नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार राति ८ बजे सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका–१ का ३१ र २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका–१ का एकै परिवारका पाँच जनामा पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि व्यास नगरपालिकाले शनिबार १ सय २ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये ९५ जनाको रिपोर्ट सोमबार दिउँसो नेगेटिभ आएको थियो ।
“राति अबेरमात्रै दुई जना सङ्क्रमित भएको प्रदेशको विज्ञप्ती आयो, यसबारे रुजु गरेर मात्रै विस्तृतमा भन्न सकिन्छ,” व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभयो ।