तनहुँ : नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै छ । तीजमा दिदीबहिनी भेटघाट गर्दै दुःखसुखका कुरा गर्ने प्रचलन कायमै छ । पौराणिक समयदेखि नै सांस्कृतिक रीतिरिवाज, सद्भाव तथा जागरण र महिलाहरुले उत्सवको रुपमा तीज पर्व मनाउँदै आएका छन् ।
कोभिड–१९ को जोखिमका कारण यसवर्षको तीज विगत वर्षको जस्तो नहुने भएको छ । जिल्लाका विभिन्न ठाउँमा समुदायस्तरका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको छ । यसैक्रममा तनहुँको देवघाट गाउँपालिकाले आपसमा जुटेर नभई घर घरमै बसेर तीज मनाउन आग्रह गरेको छ ।
आपसमा जुटेर, भेला भएर, टोल छिमेकमा यताउता गरेर नभई आ आफ्नै घरमा स्वास्थ्य सुरक्षा सावधानी सहित तीज पर्व मनाउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । “जीवन रहे आगामी वर्षहरुमा चाडबाड मनाउन, रमाइलो गर्न, नातागोता भेटघाट गर्न सकिन्छ, जीवन नै नरहे यी सबै सपना मात्र हुनेछ,” थापाले भन्नुभयो, “यस्तो संवेदनशील स्थितिमा हामी सबै सजग रहौ, सचेत रहौ, सामाजिक दूरी कायम गरौ, भीडभाड नगरौै ।”
कोभिड–१९ को महामारीको जोखिम र सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै देवघाट गाउँपालिकाले नयाँ मापदण्डसहितको बन्दाबन्दी आह्वान गरेको र कोभिड–१९ विरुद्ध देवघाटमा जारी अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरबाट सहयोगको अपेक्षा गरिएको छ ।