तनहुँ : तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । शनिबार आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकामा दुई जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो ।
तनहुँमा २ सय ३१ जनालाई कोरोना सङ्क्रमण भएकामा १ सय ८६ जना निको भएर घर फर्किएका छन् । बाँकी सङ्क्रमितको विभिन्न स्थानका आइसोलेशन कक्षमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका २४ जनाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा, दुई जनाको दमौली अस्पतालको आइसोलेशनमा, भीमाद नगरपालिकाका दुई जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा, शुक्लागण्डकी नगरपालिकाका एक जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका एक÷एक जनाको पनि सोही उपचार केन्द्रमा उपचार भइरहेको छ ।
त्यस्तै व्यास नगरपालिकाका सात जनाको दमौली अस्पतालको आइसोलेशनमा र भानु नगरपालिकाका दुई जनाको पनि सोही आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाका तीन जनाको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै व्यास नगरपालिकाका एक जनाको पोखरा र देवघाट गाउँपालिकाका एक जनाको देवघाटमै उपचार भइरहेको छ ।
३ सय ८७ को पिसीआर रिपोर्ट आउन बाँकी
जिल्लामा समुदाय स्तरमै कोरोना सङ्क्रमित भेटिन थालेपछि स्थानीय तहले पिसीआर परीक्षणको दायरा बढाएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्थानीय तहले समुदायका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएका छन् । शनिबारसम्म जिल्लाबाट गएका ३ सय ८७ जनाको रिपोर्ट आउन बाँकी छ ।
स्वास्थ्य कार्यालयका अनुसार व्यास नगरपालिकाका १ सय ३४, शुक्लागण्डकी नगरपालिकाका ५९, भीमाद नगरपालिकाका ४२, घिरिङ गाउँपालिकाका २३, बन्दीपुर गाउँपालिकाका ९५ र आँबुखैरेनी गाउँपालिकाका ३४ जनाको रिपोर्ट आउन बाँकी छ ।