तनहुँ : तीज लगत्तै भाद्र शुक्ल पञ्चमीको दिन हिन्दु महिलाहरुले ऋषि पञ्चमी पर्व मनाउँछन् । अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ गरी सात ऋषिहरुको पूजा गरिने पर्वमा सुनाईने कथा महिलाहरुको मासिक प्राकृतिक प्रक्रिया रजश्वलासँग सम्बन्धित छ । महिनावारी हुनु भनेको नछुने हुनु हो भन्ने मान्यता लाई उजागर गरिएकै कारण यो पर्वको औचित्य माथि प्रश्न उठ्ने गरेका छन् ।
महिलालाई महिनावारीको अवधिमा चण्डाल्नी, ब्रह्मघातीनी हुनेजस्ता निच चरित्रबाट अपव्याख्या गरेको ऋषिपञ्चमीको कथाले महिनावारीको बेला महिला अछुत हुने मान्यतालाई कायम राख्न वर्षेनी सघाईरहको छ । यद्यपि पछिल्ला वर्षहरुमा ऋषिपञ्चमी पुजा बहिष्कार गर्ने महिलाहरुको संख्या बढ्दै गईरहेको छ ।
तनहुँ दुलेगौडा निवासी लक्ष्मी सिग्देलले विगत ४ वर्षदेखि ऋषिपञ्चमी पूजा गर्न छाड्नुभयो । “पहिले पहिले सामान्य लाग्थ्यो, कथा सुनेपछि महिनावारी हुँदा केही छोयो भने अर्को जन्ममा कुकुर्नी नै भईने रहेछ कि ? भन्ने लाग्थ्यो, अन्जानमा केही पाप गरेको रहेछु भने यही पूजा लगाएर मुक्त भईन्छ भन्ने लागेर पुजा लाउँथे,” उहाँले भन्नुभयो, “तर पछि पछि त मलाई कथाले महिलाको आत्मसम्मानमा ठेस पु¥याएको महशुश भयो, महिनावारी हुनु भनेको त महिलाका लागि मात्रै हैन सम्पूर्ण मानव जातिकै लागि वरदान हो, किन पाप ठान्ने ? भन्ने लाग्यो र पूजा लाउन छोडिदिए ।” अबको छोरी पुस्ताले महिनावारीको बारेमा गरिएका यस्ता अपाच्य टिप्पणी सुन्न नपरोस् भन्ने सिग्देललाई लागेको छ ।
महिनावारी भनेको एक विशेष प्राकृतिक प्रक्रिया हो । मानव सृष्टिको निरन्तरताका लागि अपरिहार्य महिनावारीलाई पाप ठानेर प्रायश्चित गर्दै पूजा गर्नु दुश्कर्म ठान्नुहुन्छ युवा लेखक सरला गौतम । हालै प्रकाशित ‘डुमेरो’ पुस्तक कि लेखक गौतमले परम्परादेखि चल्दै आएको रीति हो भन्ने नाउँमा महिलाको अस्तित्वमाथि नै प्रहार गर्ने यस्ता विभेदकारी पर्वलाई बहिस्कार गर्ने गरेको बताउनुभयो । “प्राकृतिक रक्तश्रावलाई पाप ठान्ने अवधारणा मलाई सानैदेखि मन पर्दैनथ्यो, महिलाको शरीरबाट बगेको रगत जसबाट मान्छेको जीवन बन्छ, जतिपनि पण्डितहरु बन्नुभयो, त्यही रगतबाट बन्नुभयो, त्यसैलाई पाप हो, अछुत हो भनेर त्यही पाप पखाल्न गरिएको दुष्कर्मलाई साथ दिने कुरै आउँदैन ।” विज्ञानले आविष्कार गरेका नविनतम् प्रविधिको प्रयोग गर्ने, पढेलेखेका वर्तमान युगका शिक्षित महिलाहरुले पनि कुरीतिलाई निरन्तरता दिईरहनु लज्जाको विषय भएको गौतमको धारणा छ । संस्कृति भनेको समय सँगै बन्दै जाने कुरा हो, पहिले जे थियो, हुबहु त्यही मान्नुपर्छ भन्ने होईन, तीजलाई पनि नाँचेर, गाएर, हर्ष उल्लास साटासाट गरेर, प्रेमी÷प्रेमिकाबीच समान समर्पण भाव राखेर मनाउन सकिन्छ, हरेक पर्वका राम्रा पक्षको संरक्षण र विकास तथा नराम्रा पक्षलाई निषेध गरेर नै संस्कृति निर्माण गर्न सकिन्छ भन्ने उहाँको भनाई छ ।
परापूर्व काकालमा बनेका धर्मशास्त्र भनेको त्यतिबेलाको समाजको चित्रण पनि हो । जो शक्तिमा थिए, उनीहरुले नै शास्त्र लेखे, नियम बनाए । हामी जति पनि पुराण सुन्छौ, कथा सुन्छौ ती सबै तत्कालिन सामाजिक अवस्था, मानवीय चेतनाको स्तर अदिका आधारमा बनेका थिए । समय बित्दै जाँदा सोही अनुरुपको ज्ञान र प्रयोग आवश्यक पर्छ । महिनावारीको पौराणिक व्याख्या सुनेर त्यसैको पछि लाग्नु भनेको पनि उल्टो बाटोतिर दुकुर्नु जस्तै हो । स्त्री रोग विशेषज्ञ डा. जुनु श्रेष्ठ भन्नुहुन्छ, “पहिले पहिले पानीको समस्या थियो, सनेटरी प्याड लगायतका सुरक्षा सामग्री थिएनन्, सरसफाईका आधुनिक साधन उपलब्ध थिएनन्, चेतना थिएन, शारीरिक श्रमको बोझ बढि थियो, त्यसैले पनि रजश्वला हुँदा अलग राख्ने चलन थियो तर अहिले हामीसँग स्वस्थ र उन्नत साधन स्रोत छ, तर पहिले जसरी अहिले पनि रजश्वला हुँदा अलग राख्ने, अछुत ठान्ने रुढीवाद कायमै छ, जसलाई हामीले आफ्नै व्यवहारबाट अन्त्य गर्नुपर्छ ।”
ऋषिपञ्चमीको कथाले महिनावारीलाई पाप भनेर नराम्रो सन्देश दिएको छ । यद्यपि ऋषिपञ्चमी पूजाका थुप्रै त्यस्ता राम्रा सन्देश पनि छन्, जसलाई समयसापेक्ष प्रयोग गर्ने हो भने हामीलाई फाईदा पनि पुग्छ । दाँत माझ्न प्रयोग गरिने दतिवन, स्वस्थ तन मन र विचारका लागि गरिने शात्विक भोजन यसका राम्रा पक्ष हुन सक्छन् । दतिवन हाम्रो पुरानो मञ्जन हो, माटो पुरानो साबुन, पिना पुरानो स्याम्पु । यस्ता थुप्रै हाम्रा परम्परागत प्राकृतिक स्रोत साधनहरु छन् जसलाई हामीले आधुनिक तवरले प्रयोगमा ल्याउन सकिरहेका छैनौं ।
महिनावारी भनेको महिलाको शरिरमा हुने एक शारीरिक परिवर्तन हो । एउटी वयस्क महिला गर्भवती हुन तयार हुने सङ्केत नै महिनावारी हो । एक अनिवार्य शारीरिक प्रक्रिया महिनावारीलाई पाप भनेर परिभाषित गरिएका शास्त्रहरु अन्धविश्वासको उदाहरण भएको डा. श्रेष्ठको भनाई छ ।
जान्ने बुझ्ने ठानिने पढे लेखेका मान्छे पनि रुढीग्रस्त सोचबाट मुक्त छैनन् । अझै पनि महिनावारी भएको बेला तरकारी तथा फलफूलका विरुवा छुन हुँदैन, कुहन्छि भन्ने भ्रम पनि कायमै देखिन्छ । डा. श्रेष्ठ महिनावारी भएकी महिलाले छोए फलफूल कुहिने जस्ता हास्याँस्पद कुरामा कुनै सत्यता नभएको बताउनुहुन्छ । महिनावारीको समयमा बग्ने रगतमा कुनै किटाणु हुँदैन, दुषित हुुँदैन भन्ने तथ्य स्वास्थ्य विज्ञानले प्रमाणित गरेको छ, महिनावारी हुँदा सरसफाईमा ध्यान नदिँदा, सुरक्षित उपायहरु नअपनाउँदा, परिवार तथा समाजको फरक व्यवहारले मानसिक तनाव लिँदा भने समस्या आउन सक्छ । त्यसैले महिनावारीलाई पाप होईन मानवधर्मको एक उत्सवका रुपमा लिईनुपर्छ ।
ऋषिपञ्चमीको कथाले महिनावारीलाई पाप भनेर नराम्रो सन्देश दिएको छ । यद्यपि ऋषिपञ्चमी पूजाका थुप्रै त्यस्ता राम्रा सन्देश पनि छन्, जसलाई समयसापेक्ष प्रयोग गर्ने हो भने हामीलाई फाईदा पनि पुग्छ । दाँत माझ्न प्रयोग गरिने दतिवन, स्वस्थ तन मन र विचारका लागि गरिने शात्विक भोजन यसका राम्रा पक्ष हुन सक्छन् । दतिवन हाम्रो पुरानो मञ्जन हो, माटो पुरानो साबुन, पिना पुरानो स्याम्पु । यस्ता थुप्रै हाम्रा परम्परागत प्राकृतिक स्रोत साधनहरु छन् जसलाई हामीले आधुनिक तवरले प्रयोगमा ल्याउन सकिरहेका छैनौं । कम्तीमा दिनमा २ पटक दाँत माझ्नुपर्छ भन्ने बुझेका हामी वर्षमा जम्मा एक दिन ३६५ वटा दतिवनको डन्ठी चपाएर पौराणिक मान्यताको सम्मान गर्न कदापी सक्दैनौ । परम्परागत मुल्य मान्यताको सम्मान यदी हामी गछौं भने खोई त हामी महिलाहरुले दतिवनबाट मञ्जन बनाई बेच्न सकेको ?
संस्कृति संरक्षण गर्नु हाम्रो कर्तव्य हो तर कुरीतिलाई प्रशय दिईरहनु आफू अनि भावी पु्स्ता माथि समेत जानीजानी थोपरिएको अज्ञानता हो । धर्म संग जोडिएका छन् भन्दैमा सबै पौराणिक मूल्य मान्यता वर्तमान समाजसंग सुहाउँदा पक्कै छैनन् । धर्मशास्त्र हुन् भन्दैमा उ बेला लेखेका सबै कुरा अहिले पनि लागु गर्नुपर्छ भन्ने होइन ।
पहिले पहिले घाम डुबेपछि कसेर बढार्नु अलक्षिन मानिन्थ्यो, किन कि त्यतिबेला हाम्रा घरमा बिजुली बत्ती थिएनन्, अंध्यारोमा कुचो लगाउँदा हाम्रा बहुमुल्य सामग्री पनि फोहरसँगै बढारिन सक्थे, हराउन सक्थे तर आजकल दिउँसो होस् या राति जतिबेला अनुकुल मिल्छ त्यतिबेला नै घर सफा गर्न सकिन्छ, कसेर लगाउन सकिन्छ । त्यसैले पहिले पहिले मानिँदै आएका मान्यता त्यतिबेलाका लागि व्यवहारिक र वैज्ञानिक थिए तर समय परिवर्तन हुँदै जाँदा हाम्रा मुल्य मान्यतामा पनि परिवर्तन आएका छन् ।
विज्ञान प्रविधिको विकास संगै सभ्य संस्कृतिको विकास गर्न सिकौं ।
महिनावारीलाई पाप ठान्ने कथा सुन्न छोडौं ।
तस्बिर :गुगलबाट