भतेरीमा फोहर फाल्ने कहिलेसम्म ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    भतेरीमा फोहर फाल्ने कहिलेसम्म ?

    गाेरा मियाँ

    १२ भाद्र २०७७, शुक्रबार

    विसं २०४९ सालमा स्थापना भएको तनहुँकै जेठो नगरपालिका हो व्यास । जिल्लाको सदरमुकाम भएको हुँदा दमौली सुलभ शहरको रुपमा परिचित छ । व्यास ऋषिको तपस्यारत स्थल भएकाले झनै व्यासभूमिको महत्व छ । धेरै सम्पदाले भरिपूर्ण रहेको व्यास नगरपालिका व्यास ऋषिकै नामले प्रचलित छ । धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण सम्भावना बोकेको पालिकामध्ये व्यास नगरपालिका अग्रणी स्थानमा पर्दछ । जिल्लाका १० पालिकाको तुलनामा विविध तरिका अनुरुप जिल्लावासीले व्यास नगरपालिकालाई सम्झने गर्दछन् । जिल्लाकै ठूलो र स्रोतसाधन सम्पन्न नगरपालिका भएपनि फोहरमैला व्यवस्थापनमा भने नगरपालिकाले ठोस काम गर्न सकेको छैन । व्यास नगरपालिका स्थापना भएको यतिका वर्ष भइसक्दा पनि नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुन सकेको छैन । पवित्र मादी नदी छेउ भतेरीलाई डम्पिङ साइट बनाइएको छ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि केही ठाउँमा जग्गा अवलोकन गरिएपनि स्थानीयवासीको विरोध हुन थालेपछि नगरपालिका त्यहाँबाट पछाडी हट्दै गइरहेको छ । वर्षेनी मादी नदीमा आउने बाढीले भतेरीमा जग्गा कटान गरिदिँदा फोहर फाल्न पनि समस्या हुँदै आइरहेको छ ।

    अहिले पनि मादी नदीमा आएको बाढीले भतेरी कटान गरिदिँदा फोहर फाल्न समस्या उत्पन्न भएको छ । नगरपालिकाले फोहर फाल्दै आएको जग्गा नदीले कटान गरेर लगिदिएको छ । बाढीले त्यहाँ रहेका फोहरहरु पनि मादी नदीमा मिसाइदिएको छ । जसकारण दमौली बजारमा एक सातादेखि फोहर उठ्न सकेको छैन । फोहर नउठेपछि दमौली बजारका राजमार्ग दायाँबायाँ क्षेत्रमा फोहरका डुंगुर देखिएका छन् । व्यास नगरपालिका बजार क्षेत्रका वडावासीहरु नाक थुनेर हिँडडुल गर्न बाध्य छन् । २९ वर्ष अगाडी स्थापना भएको नगरपालिकाले दीर्घकालिन रुपमा फोहरमैला संकलन केन्द्र निर्माण गर्न नसक्नुले यस्ता समस्या वर्षेनी उल्झिने गरेको छ । व्यासभूमिको महत्व कायमै राख्न, सफा र स्वच्छ नगरपालिका निर्माण गर्नका लागि नगरपालिकाले फोहरमैला संकलन केन्द्र निर्माणलाई अब ढिला गर्नुहुँदैन । यसतर्फ नगरपालिकाको ध्यान जाओस् ।