राडर गनले नाप्नेछ सवारीको गति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राडर गनले नाप्नेछ सवारीको गति

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने क्रम बढेपछि सवारीको गति मापन गर्न राडर गन प्रयोगमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राडर गन प्रयोगमा ल्याएको हो ।

    व्यास नगरपालिकाले गत वर्ष प्रहरीलाई राडर गन उपलब्ध गराएको थियो । केही समय प्रयोगमा आएर उक्त राडर गन यसै प्रयोगविहिन अवस्थामा रहेको थियो । तर अब नियमित रुपमा यसको प्रयोग गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

    “राजमार्गमा अत्याधिक तीव्र गतिका कारण सवारी दुर्घटना हुने जोखिम भएको हुँदा गति कम गर्न राडर गन प्रयोग शुरु गरिएको छ,” रानाभाटले भन्नुभयो । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्ने बारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्ने उहाँले बताउनुभयो । “तीव्र गतिमा सवारी चलाउने चालकलाई सम्झाएर गति कम गर्न लगाउन सकिन्छ,” उहाँले भन्नुभयो, “राडरगन राजमार्गका विभिन्न स्थानमा सवारी चेकिङको क्रममा प्रयोग गरिनेछ ।”

    बुधबारदेखि मात्रै दमौलीमा ‘नो हर्न : नो ओभरटेक’ अभियान लागु भइसकेको छ । तीव्र गति र ओभरटेकको कारणले धेरै सवारी दुर्घटना हुने हुँदा त्यसलाई रोक्न पनि राडर गन प्रभावकारी बन्ने प्रहरीको भनाई छ । ‘नो हर्न ः नो ओभरटेक’ लेखिएको सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी राखिएको छ । उक्त अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई समितिले सहयोग गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔ, ओभरटेक नगरौ, हर्न नबजाऔं लगायतका सचेतनामूलक सन्देश राखिएको छ ।

    सवारी दुर्घटनामा गत वर्ष ४४ जनाले ज्यान गुमाए

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको कोत्रे–मुग्लिन सडकखण्डमा गत आर्थिक वर्ष ०७६÷७७ को अवधिमा ४४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । कार्यालयका अनुसार ३१ वटा मोटरसाइकल, १२ ट्रक, दुई टिप्पर, १६ बस, एक माइक्रो, १५ जिप, १० ट्याक्टर दुर्घटनामा परेका छन् ।

    शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँहरु हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ । तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाही जस्ता कारणले सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।