तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा पार्किङलाई व्यवस्थित गरिने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायी, सङ्घसंस्थाको बिहीबार बसेको बैठकले डुम्रे बजारमा पार्किङ व्यवस्थित गर्ने निर्णय गरेको हो ।
जथाभावी सवारी पार्किङ गर्दा दुर्घटना बढ्न सक्ने र बजार अस्तव्यस्त भएपछि पार्किङलाई व्यवस्थित बनाउन खोजिएको हो । बैठकले निजी सवारी साधनलाई जथाभावी पार्किङ गर्न नदिने, बसको टिकट काउण्टर तल्लो डुम्रे बजारमा स्थानान्तरण गर्ने, सडक पेटीमा सामान राख्न नदिने लगायतका निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले निर्णय कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले सबैको सहयोगले मात्रै ट्राफिक व्यवस्थापन सहज हुने बताउनुभयो ।
उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेल, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका सल्लाहकार घनश्याम श्रेष्ठ उघोग वाणिज्य सङ्घ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठ, इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुसाल, डुम्रे बजार इकाई अध्यक्ष नेक मोहम्मद मिया लगायतको उपस्थिति थियो ।