तनहुँ : नेपालीहरुको महान पर्व दशैँ घरदैलोमा छाइसकेको छ । यो वर्ष कोरोना भाईरस संक्रमण बढिरहेकाले दशैको रौनक उतिसारो छैन । बजारमा विगतको जस्तो किनमेल गर्नेको त्यति सारो भिड देखिन्न । बजारमा भिडभाड नभएपनि अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद विक्री कहिल्यै रोकिदैन । त्यसमा पनि खाद्यान्नका सामग्री र तरकारीको उपभोग सधैँ एकनासको हुन्छ ।
सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्यान्न र तरकारी व्यपारीले चाडपर्वको मौका छोपेर चर्को मुल्य असुल्ने, म्याद गुज्रेका अखाद्य वस्तु विक्री वितरण र मिसावट गर्ने भएकाले तनहुँको शुक्लागण्डकी नगरपालिकाले एक हप्ता लगाएर अनुगमन गर्यो । अनुगमनको क्रममा व्यावसायिक इमानदारिताको खडेरी देखिएको छ ।
नगरपालिकामा बढी किनमेल हुने दुलेगौडा, खैरेनीटार, कोत्रे, एक्लेखेत, हलेदी, ढोरफिर्दी, साँखे र शेराटारका ६२ पसल अनुगमन गरिएको अनुगमन टोलीका संयोजक प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो। तीमध्येका अधिकांश पसल मापदण्डमा नरहेको उहॉ बताउनुहुन्छ । उहॉ भन्नुहुन्छ, ‘अधिकांशमा म्याद गुज्रेका खाद्यवस्तु भेटियो । एकाध बाहेकका व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरिरहेको पायौँ’, उहॉले भन्नुभयो ।
चाडपर्वको समय बढी उपभोग हुने पेय पदार्थ, घ्यू, तेल, मैदा, सुजी, अचार बढी म्याद गुज्रेको भेटिएको लम्सालले जानकारी दिनुभयो । अनुगमन टोलीले त्यस्ता म्याद नभएका र अखाद्य वस्तु जफत गरेको छ । कानुन बमोजिम नष्ट गर्ने जनाईएको छ ।
यस्तै, अधिकांश व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता र नविकरण नै नगरेको लम्सालले बताउनुभयो। ‘व्यवसाय सञ्चालन गर्दा स्थानीय तहमा अनिवार्य व्यवसाय दर्ता र वार्षिक नविकरण गर्नुपर्ने प्रावधान छ । नगरपालिकाले बेलाबखतमा व्यवसाय दर्ता गर्न अनुरोध गरिरहे पनि व्यवसायीले भने अटेरी गर्दै आईरहेका छन् । कतिपयले दर्ता गरेरपनि वर्षौदेखि नविकरण गरेका छैनन् । उनीहरुलाई तुरुन्तै मापदण्डमा आउन भनिएको छ’, उहॉले भन्नुभयो ।
जनप्रतिनधि, कर्मचारी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहितको अनुगमन टोलीले बजार व्यवस्थापन समिति संयोजक एवंम नगर उपप्रमुख सविता रसाईलीलाई प्रतिवेदन बुझाएको छ । मापदण्डमा नरहेका व्यवसायीलाई कारबाही गर्ने वा सुध्रने मौका दिनेबारे उक्त समितिले निर्णय गर्नेछ ।