जनप्रतिनिधि भएको नाताले विभिन्न भेला, विभिन्न ठाउँमा जानुपर्ने कतिबेला कसरी अदृश्य भाइरसले सङक्रमित भइयो थाहा नै पाईएन । कोभिड हो भन्ने शङ्का नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भइहाल्छ भनेर एक्लै क्वाटरमा आइसोलेशन भएर बसेँ । दमौलीकै हस्पिटलहरुमा परीक्षण गर्दै औषधि सेवन गरेर बसेँ तर ज्वरो झन् बढ्दै गयो । ९÷१० दिन पानी भन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । पछि ओछ्यानबाट चल्न नसक्ने अवास्थामा पुगे । झण्डै बेला बेलामा होस नै हराएको जस्तो हुने, श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा पोखरा जाने सोच पनि नबनाएको होइन, तर ज्वरो भने पछि गाडी पनि पाइएन र केही दिनपछि कार्यालयबाट परीक्षण गर्न जाने भनेर जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, समन्वय अधिकारी र सदस्य साथीहरूले जिसस सदस्य दिव्यश्वरी बहिनी र कार्यालय सहयोगी दिल राना दाईलाई एम्बुलेन्स लिएर क्वाटरमा पठाउनु भएको रहेछ र दमौलीको हस्पिटलमा एक्सरे, ब्लडचेक गरेपछि फोक्सोमा समस्या आइसकेकाले तुरुन्तै पोखरा जानु भन्ने सुझाव आयो । पछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगे तर गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन । पिसीआरको लागि भोलि आउनु भनेर घर जानु भनेपछि झन् पीडा थपियो । एकातिर श्वास फेर्न एकदमै गाह्रो भईरहेको थियो अर्कोतिर उच्च ज्वरोले सपना जस्तै भईरहेको थियो । केही सोच्न पनि सकिरहेको थिइँन । अब भर्ना नलिने भएपछि गाडी खोजे त्यहाँ पनि त्यही समस्या, ज्वरोको बिरामी भनेपछि गाडी नै नमान्ने । केही विकल्प नदेखे पछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसेँ । केही समयपछि पूर्वमन्त्री शङ्कर भण्डारी दाईले गण्डकीको इन्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्र्नुभएछ र बल्ल बल्ल ईमर्जेन्सीको एउटा कुनामा बस्ने व्यवस्था मिलाइयो । केही समय पछि त्यहाँबाट पनि प्रि आइसोलेशनमा लगियो र अक्सिजन दिईयो । बल्ल केही राहत महशुस भयो र ज्वरोको औषधि चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि । तर श्वास फेर्न चाहिँ गाह्रो भईरहेको थियो । भोलिपल्ट पिसीआर परीक्षण भयो र पर्सीपल्ट रिपोर्ट आयो पोजिटिभ । श्वास फेर्न एकदम गाह्रो भईरहेको बेला स्वास्थ्यकर्मीले रिजल्ट पोजिटिभ आएको खबर सुनाउँदा त्यो समय झन पीडा भयो । तैपनि आफूलाई सम्हाले । पोजिटिभ त आयो फेरि आइसोलेशनमा बेड छैन भनेर तनाव दियो । एक दिन प्रि आइसोलेशनमै बसेपछि बल्ल बल्ल भोलिपल्ट आइसोलेशनमा आइसियुमा लगेर राखियो । आइसियुमा पुगे पछि बल्ल थाहा भयो कोरोना के हो भन्ने । श्वास फेर्न गाह्रो भएर आफ्नै अगाडी मान्छेहरु भटाभट मरिरहेको प्रत्यक्ष देखेँ, आफ्नै आँखा अगाडी मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लाँदै गर्दा कति आत्तिए त्यो पल सम्झँदा पनि जिउमा काँडा उम्रेर आउँछ । मरिसके पछि पनि आफ्नो आफन्तले लान नपाउने, सेनाहरु आएर लैजाने नियम रहेछ । सेनाहरु आउन ढिलो भएको दिनहरुमा कति दिन त छेउको बेडको लाशहरुसँगै रात बिताउन पर्यो, मान्छे नमरेको दिन हँुदैनथ्यो । आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो । धेरैले कोरोना साधरण फ्लू हो केही होइन भन्छन तर त्यसो भन्नेहरु कोरोनाको आइसियुमा मात्रै ३÷४ मिनेट गएर हेर्यो भने कोरोना के हो प्रष्ट हुन्छ । केही दिन आइसियुमा बसेर केही रिकभर भए पछि नर्मल बेडमा सारियो । बल्ल केही राहत भयो त्यसपछि भने बाँच्छु भन्ने आश पलायो । दशैभरि आइसोलेशनमा नै बसियो, आइसोलेशनमा रहँदा धेरै स्वास्थ्यकर्मीहरु हामीसङ्गै आइसोलेशनमा न थिए । धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छाडेर सङ्क्रमितको उपचारमा खटिएका छन् त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउनपर्छ र समाजमा अब झन् सङ्क्रमितहरु बढ्दै गइरहेको छ त्यसले सङ्क्रमितहरुलाई घृणा नगरी आइसोलेशनमा बस्न सहज वातावरण मिलाउनपर्छ अनि मात्र कोभिडको यो लडाईमा सफलता पाउन सकिन्छ ।
अबको दिनहरु झन् भयावह हुने निश्चित छ त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आइसोलेशन बनायो भने केही सहज होला होइन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठूलै युद्ध जित्न पर्छ त्यो सर्वसाधारणको पहँचको कुरा पनि भएन ।
काेराेना सङ्क्रमणमुक्त भएपछि बुधबार गुरुङले व्यक्त गर्नुभएकाे अनुभव