प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    तनहुँ : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करिब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९ सय ३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।

    सरकारले गत साउन ८ गतेदेखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम् एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।

    शुक्लागण्डकी नगरपालिकामा ५ सय ८८ बेरोजगार सूचीकृत भएका छन् । नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीका अनुसार सबैभन्दा बढी वडा नं १ मा १ सय ४१ जना सूचीकृत भएका छन् । वडा नं २ मा ३३, वडा नं ३ मा १६, वडा नं ४ मा ११, वडा नं ६ मा २०, वडा नं ७ मा ४२, वडा नं ८ मा ३४, वडा नं ९ मा २२, वडा नं १० मा २३, वडा नं ११ मा ८६ र वडा नं १२ मा ४६ जना सूचीकृत भएका छन् । वडा नं ५ मा भने कसैले पनि फर्म नभरेको जिसीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले रु ५१ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम शुरु गर्ने तयारी गरिएको छ । “तिहारपछि काम शुरु गराउने योजना छ,” उहाँले भन्नुभयो ।

    म्याग्दे गाउँपालिकामा ४ सय ४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम शुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई रु ५१ लाख ९२ हजार बजेट विनियोजन भएको छ ।

    बन्दीपुर गाउँपालिकामा ३ सय ६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिं गुरुङका अनुसार वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १ सय २० जना सूचीकृत भएका छन् । कार्यक्रमका लागि सङ्घीय सरकारको तर्फबाट रु ५१ लाख ७० हजार बजेट विनियोजन भएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्य सहित गाउँपालिका आफैले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको र ५० वटा योजना छनौट गरेको छ । “प्रधानमन्त्री रोजगार र गाउँ प्रमुख रोजगार कार्यक्रम सँगसँगै अगाडी बढाउँदैछौ,” रोजगार संयोजक गुरुङले भन्नुभयो, “त्यसका लागि अहिले स्थलगत अध्ययन, लागत इष्टमेटका काम भइरहेको छ ।” उक्त कार्यक्रम तिहारलगत्तै शुरु गर्ने योजना बनाइएको छ ।

    आँबुखैरेनी गाउँपालिकामा ५ सय ४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार वडा नं १ मा ७२, वडा नं २ मा ९३, वडा नं ३ मा ६३, वडा नं ४ मा २१, वडा नं ५ मा ९५, वडा नं ६ मा १ सय ९७ सूचीकृत छन् । कार्यक्रम सञ्चालनका लागि योजना छनौट भइसकेको र तिहार लगत्तै काम शुरु गरिने गैह्रेले जानकारी दिनुभयो । कार्यक्रमका लागि रु ५१ लाख बजेट विनियोजन भएको छ ।

    व्यास नगरपालिकामा ९ सय ९४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक सुजाता थापाका अनुसार वडा नं २, ३, ४ र ५ बाहेक सबै वडाबाट बेरोजगार सूचीकृत भएका छन् । सबैभन्दा बढी वडा नं १३ र १४ बाट बेरोजगार सूचीकृत भएका छन् ।