मानुङमा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङमा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    तनहुँ : पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

    व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने सेड निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

    गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गर्नुभएको थियो । मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

    “मानुङमा सबैभन्दा बढी समस्या खानेपानीको हो, पानीकै दुःखका कारण यहाँका वासिन्दा तल वेशी झरे,” श्रेष्ठले भन्नुभयो, “लिफ्टिङ गरेर खानेपानी सुविधा पु¥याउने विषयमा पनि प्रदेश सरकारसँग अनुरोध गरेका छौ ।”

    सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।

    दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

    मानुङकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।