तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले मङ्गलबार विज्ञप्ती सार्वजनिक गर्दै हरिबोधनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले गतवर्षदेखि हरिबोधनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले उक्त दिन नगरपालिका अन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहेतापनि नगरले यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो । गत वर्षसम्म नगरपालिकाको केन्द्रमा अवस्थित दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्दथ्यो । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दथे ।
एकादशीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म भने नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने जनाएको छ । नगर प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन कार्यालयबाट प्रवाह हुने सेवा बन्द रहने नगरपालिकाले जनाएको छ ।