तनहुँ : गण्डकी प्रदेश सभा सदस्य आशा कोरालाले संविधानमा अझै पनि लैंगिक हिंसाको अवशेष बाँकी नै रहेको बताउनुभएको छ । सबै खाले हिंसा उत्पीडन र दमन विरूद्व जनताको लामो संघर्षबाट निर्मित वर्तमान संविधानमा समेत आमाको नाममा नागरिकता पाउने विषय अस्पष्ट भएको भन्दै कोईरालाले भन्नुभयो, “विविध कारण बाबुको पहिचान हुन नसकेका वा विकृति, विसङ्गित र अराजकताको सिकार भै बच्चा जन्माउन विवश आमाहरुले आफ्नो बच्चालाई आफ्नो पहिचान सहितको नागरिकता दिन सकेका छैनन्, जबकी बाबुले आमाको नाम समेत उल्लेख गर्न आवश्यक पर्दैन । यो राज्यको तर्फबाट भएको लैंगिक विभेद हो ।”
नागरिकतामा आमा बाबा दुवैमा लागि समान प्रावधान हुनुपर्नेमा जोड दिँदै काेइरालाले पैतृक सम्पतिमा समान अधिकार, समान कामको समान पारिश्रमिक लगायतका प्राप्त उपलब्धिहरूको व्यवहारिक कार्यान्वयनमा व्यक्ति, परिवार, समाज र राज्य सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
नोभेम्बर २५ अर्थात बुधबारदेखि शुरू भएको लैंगिक हिंसा विरूद्वको १६ दिने अभियानको अवसरमा व्यास नगरपालिकाले दमौलीमा आयोजना गरेको अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले महिलाहरूले गर्ने घरेलु कामको मूल्याङ्कन गरि राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक लगायत क्षेत्रमा महिला पुरूष दुवैको समान अधिकार र समान दायित्व हुनुपर्ने उल्लेख गर्दै कोईरालाले घरेलु कामको आर्थिक मुल्यांकनका लागि महिलाले अझै पनि संघर्ष गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरूङले हिंसा न्युनीकरणका लागि पीडकलाई कडा कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले लैङ्गिक हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक भएको भन्दै गाउँ गाउँ सम्म अभियान विस्तार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले भ्रुण हत्या, यौनिक दुुव्र्यवहार, बलत्कार जस्ता हिंसाका उन्मुलनका लागि प्रत्येक मानिसको सम्मानपुर्वक बाँच्न पाउने अधिकारको स्थानीय तवरमा वकालत हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, महिला बालबालिका शाखाका राधा वाग्ले, मादीगंगा महिला बहुउद्देश्यीय संस्थाकी अध्यक्ष शान्ता खनाल लगायतले कुनै पनि व्यक्तिलाई उसको लिंगको आधारमा विभेद गरिनु मानविय सभ्यता विरोधी अपराध भएको भन्दै हिंसा अन्त्यमा सबैले आफ्नो आफ्नो व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा नगर्ने, नसहने र हिंसाको प्रतिकार गर्ने प्रतिवद्वता जनाउँदै सेतो रिवन लगाएर हस्ताक्षरसहितको प्रतिबद्धता जनाएका थिए ।