तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको हो ।
बहुविवाह मुद्दामा विगत चारवर्षदेखि फरार व्यास नगरपालिका–१० नयाँबस्ती बस्ने ३३ वर्षीय पदमबहादुर विक पक्राउ परेका छन् । निज विरुद्ध अदालतले विसं २०७३ वैशाख गते एक वर्ष ६ महिना कैद र रु दश हजार जरीवानाको फैसला गरेको थियो ।
सवारी ज्यान मुद्दामा विगत १२ वर्षदेखि फरार बन्दीपुर गाउँपालिका–चिसापानी बस्ने श्यामलाल श्रेष्ठ पक्राउ परेका छन् । निज विरुद्ध अदालतले विसं २०६५ पुस २९ गते एक महिना कैद र रु दुई हजार जरीवानाको फैसला गरेकामा निजले पाँच दिन कैद र रु दुई हजार जरीवाना भुक्तान गर्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार कुटपिट मुद्दामा एक, नाता कायम मुद्दामा तीन, सम्बन्धबिच्छेद मुद्दामा तीन फरार प्रतिवादी पक्राउ गरेका छन् ।
पक्राउ परेकाबाट एक वर्ष पाँच महिना ९ दिन कैद र रु १२ हजार एक सय ७५ जरीवाना भुक्तानका लागि अदालत उपस्थित गराइएको तिमिल्सिनाले बताउनुभयो ।