पुल निर्माणका लागि माटो परीक्षण गर्न अवरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुल निर्माणका लागि माटो परीक्षण गर्न अवरोध

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर र व्यास नगरपालिका–५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन् ।

    शान्तिनगरका केही वासिन्दाले हाल झोलुङ्गे पुल भएकै ठाउँमा पुल निर्माण हुनुपर्ने र सोही ठाउँमा माटो परीक्षण गर्नुपर्ने माग गरेका छन् । उक्त ठाउँमा यस अगाडी नै माटो परीक्षण गरिएको र उक्त ठाउँमा पुल निर्माण सम्भव नदेखिएको बताइएको छ ।

    व्यास नगरपालिका–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि नजिक रहेको ठाउँमा माटो परीक्षणका लागि प्राविधिक टोली आइपुगेको छ । शान्तिगरका वासिन्दाले उक्त ठाउँमा विवाद गरेपछि एक दुई दिनका लागि काम रोक्न आग्रह गरिएको व्यास नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताउनुभयो ।

    “शान्तिनगरका केही साथीहरुले माटो परीक्षण गर्न दिन्नौ भनेर विवाद गरेपछि नगरप्रमुखसँगको सल्लाहमा एक दुई दिन काम रोक्न भनेका हौ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “सोमबार पाटनवासी डेलिगेशन जानुभएको रहेछ, दुवै ठाउँकै माटो परीक्षण गर्ने अनौपचारिक सहमति भएको थाहा पाएको छु ।”

    पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले पुल निर्माण हुने÷नहुने निश्चित नभइसकेको अवस्थामा माटो परीक्षण गर्न अवरोध गरिनु दुःखद भएको बताउनुभयो । “अहिल्यै पुल निर्माण हुन लागेको होइन, सम्भाव्यता अध्ययनका लागि माटो परीक्षण हुन लागेको हो,” उहाँले भन्नुभयो, “तर बेकारमा विवाद गर्ने काम भयो ।”

    उक्त ठाउँमा शान्तिनगरवासीलाई भन्दा पनि पाटनवासीलाई पुल अति आवश्यक रहेको उहाँको भनाई छ । “पुल चाहिएको हामीलाई हो, जहाँ बनेपनि हुन्छ, तर माटो परीक्षणका लागि काम नै गर्न नदिनु दुखद हो,” उहाँले भन्नुभयो ।

    पाटनका स्थानीयवासी कृष्णनारायण श्रेष्ठले माटो परीक्षणका लागि काममा अवरोध गर्नुभन्दा समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । “दुवै ठाउँमा माटो परीक्षण गर्न सकिन्छ, तर यहाँ त काम गर्नै नदिने वातावरण बन्यो,” उहाँले भन्नुभयो, “शान्तिनगर र पाटनवासीबीच सहमति गरेर काम अगाडी बढाउन आवश्यक छ ।”

    माटो परीक्षणका लागि अवरोध भएपछि पाटनवासीले व्यास नगरपालिका घेराउ गरेका छन् । उनीहरुले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई भेटी काम सुचारु गर्ने वातावरण बनाईदिन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानेले दुवै ठाउँका वासिन्दाबीच सहमति गरेर अगाडी बढ्नुपर्नेमा बताउनुभयो । “जहाँ उपयुक्त हुन्छ, त्यहाँ पुल बन्नुपर्छ, दुवै ठाउँका स्थानीयसँग बसेर विवाद समाधानमा पहल गर्छौ,” न्यौपानेले भन्नुभयो ।

    “सम्भव हुन्छ भने अहिले झोलुङ्गेपुल जहाँ छ त्यहीँबाट निर्माण गरौं भन्ने सबैको सहमति भएको थियो, अहिलेको ठाउँबाट सम्भावना छैन भनेर भनेपनि प्रतिवेदन प्राप्त भएको छैन,” नगरप्रमुख न्यौपानेले भन्नुभयो, “के कारणले सम्भावना छैन भनेर प्रतिवेदन बुझाउन भनिएपनि उक्त कागजात प्राप्त भएको छैन ।”

    उक्त ठाउँमा पुल निर्माण हुने विषयमा नगरपालिका अनभिज्ञ रहेको समेत न्यौपानेले बताउनुभयो । “सङ्घबाट हो की प्रदेशबाट हो की कहाँबाट आएको योजना हो, हामीलाई केही जानकारी छैन । जहाँबाट भएपनि पुल निर्माण हुन्छ भन्ने भएपछि काम शुरु गर्न भनिएको थियो,” उहाँले भन्नुभयो ।