कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । 
     
    यसै सन्दर्भमा कांग्रेसले बिहीबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

    मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए।
     
    दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका  कांग्रेस नेता बीपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।
     
    तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । 
     
    शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किइका थिए।