शुक्लागण्डकीको बराहडाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
अट्ठाईस बजार मेलाको अवसर पारेर पुस २६ देखी २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष टुकबहादुर गुरुङले जानकारी दिनुभयो । नगरका १२ वडाका समुहबिच प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रथम हुने समुहले नगद ६० हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ । दोस्रो र तेस्रोले क्रमश : नगद ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ । नगरका १२ वटै वडालाई सहभागिताको लागी पत्राचार गर्ने गुरुङले बताउनुभयो ।
शुक्लागण्डकीमा निर्वाचित भएर आएपछि जनप्रतिनिधीको नाममा आयोजित यो पहिलो भलिबल प्रतियोगिता हो । युवाहरुको भलिबल खेलप्रतिको मोहलाई बढवा दिन प्रतियोगिता आयोजना गरेको वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो । उहाँले अगाडी भने, ‘कोरोनाको संक्रमण फैलन थालेपछि खेलकुदका गतिविधी ठप्प भएको छ । अहिले अन्य गतिविधी पहिलेकै अवस्थामा सुचारु हुदाँ पनि खेलकुद हुन सकेको छैन् । जसका कारण खेलप्रति लगाव भएका युवाहरुमा नैराश्य छाएको बेला उनीहरुको खेल कौशल प्रदर्शनका लागी प्रतियोगिता आयोजना गरेका छौँ ।’ उहाँका अनुसार यो प्रतियोगिताले नगर स्तरिय भलिबल टिमका लागी खेलाडी छनौट गर्न सघाउने छ ।
फिरफिरेले भने तमु ल्होसारको अवसरमा ढोर लामागाउँमा टोलस्तरिय भलिबल प्रतियोगिता गरेर वडास्तरिय टिमका लागी खेलाडी छनोट गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान छ । वडाले १ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । बाँकी रकम सहयोग उठाउने जनाईएको छ ।