तनहुँ : उर्जामन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको साेमबार निरीक्षण गर्नुभएको छ । उर्जामन्त्री रायमाझीले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएको छ ।
आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कम्पनीले गरिरहेको कामको बारेमा मन्त्री रायमाझीले जानकारी लिनुभएको छ । सिनो हाइड्रोले विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ । आयोजनाको निरीक्षण पश्चात् मन्त्री रायमाझीले आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग गरिने बताउनुभयो ।
तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले मन्त्री रायमाझीलाई आयोजनाको हालसम्मको गतिविधि बारे जानकारी गराउनुभयो । आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज दुई अन्तर्गत सिनोले क्याम्पहरु, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याव, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युतगृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न भएको छ ।
बन्दाबन्दीका शुरुमा दुई हप्ता काम रोकिएकामा तत्तपश्चात पुनः काम सुचारु गरी दशैं तथा तिहारमा समेत कार्य सुचारु राखिएको सो अवसरमा घिमिरेले मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो । प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमा समेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केइसी इन्टरनेशनले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ ।
सो अवसरमा मन्त्री रायमाझीलाई आयोजनाको समस्या र समाधानका उपायबारे अवगत गराइएको छ । प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले निर्माणमा ढिलाई भएको छ । सो अवसरमा आयोजना प्रमुख घिमिरेले आयोजनाको लागि आवश्यक गिटी, बालुवा जस्ता नदीजन्य निर्माण सामग्री उपयोगमा स्थानीय व्यवसायी र आयोजनाबीच असामान्य उत्पन्न हुने गरेको मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो ।
निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने लगायतको सहभागिता थियो ।
आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।
आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।