दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइाराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा निर्माण सम्पन्न भएको आइसोलेशन कक्ष भवन हस्तान्तरण गरिएको छ । नेपाली राजनीतिका शिखर पुरुष पूर्व प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको एघारौ स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उक्त भवन उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
तनहुँ जिल्लाका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण सम्पन्न भएको भवनको साँचो व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ । लगत्तै अस्पताल सञ्चालक समितिका सदस्य भण्डारीले उक्त साँचो कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
कोरोना महामारीका बेला सङ्क्रमितलाई उपचारको व्यवस्था मिलाउन उक्त भवन निर्माण शुरु गरिएको थियो । भवन निर्माण केही समय अगाडी नै सम्पन्न भएपनि गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा हस्तान्तरण गर्ने योजना बनेको थियो ।
रु ७२ लाखमा उपभोक्ता समितिमार्फत् सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास, भीमाद र भानु नगरपालिकाले १२÷१२ प्रतिशत लागत सहभागिता बेहोरेका छन् । त्यस्तै देवघाट गाउँपालिकाले पाँच प्रतिशत, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले ९÷९ प्रतिशत लागत सहभागिता बेहोरेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त भवन ५० शैय्या क्षमताको रहेको छ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले सहमति, सहकार्य र सहअस्तित्वबाट सोचेको लक्ष्य पूरा गर्न सकिने बताउँदै तनहुँका स्थानीय तहबीच सदैव उक्त सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । “एउटा पालिकाको प्रयासले मात्रै भवन बनाउन सम्भव थिएन, सबै पालिकाको सहकार्यमा भवन निर्माण गर्न सक्यौ,” उहाँले भन्नुभयो, “यस्तो सहकार्य भविष्यमा पनि भइरहनेछ ।”
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कोभिड सङ्कटमा जिपी कोइराला उपचार केन्द्रले पु¥याएको योगदानले यसको गरिमा थप उचो भएको बताउनुभयो । उपचार केन्द्रको सुधार, स्तरीकरणमा पनि स्थानीय तहको सदैव सहयोग रहने बताउँदै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “शुरुमा कुनै पनि अस्पताल कोभिड बिरामी राख्न तयार भएनन्, तर जिपीले देखाएको सक्रियताले कोभिड बिरामीको उपचार गर्न सहज भयो ।”
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भवन अभावमा नियमित सेवा बन्द गरेर पनि उपचार केन्द्रले कोभिड सङ्क्रमितको उपचारमा देखाएको तत्परता सराहनीय रहेको बताउनुभयो । उपचार केन्द्रका सञ्चालक समिति सदस्य राम भण्डारीले भौतिक पूर्वाधारको अभावमा पनि उपचार केन्द्रले कोभिड बिरामीको उपचारमा सम्भव भएसम्मका सबै उपचार गरेको बताउनुभयो । “अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रवाहका लागि जिपी सदैव प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडी बढ्छौ ।”
कार्यक्रममा सहभागीहरुले स्व. कोइरालाको योगदान भुल्न नहुनेमा जोड दिनुभएको छ । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन कोइरालाले पु¥याउनुभएको योगदान चीरस्थायी भएर रहिरहने वक्ताहरुको जोड थियो ।