नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्र सतहबाट २९७२ मिटरको उचाइमा अवस्थित छ । नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरु मध्ये रारा एक अब्बल गन्तव्य हो । रारा पुग्ने माध्यम भने दुई वटा छन् । एउटा हवाई र अर्को गाडी । तर रारासम्म नै पुग्नलाई भने मोटर बाटो छैन । जिल्लाको सदरमुकाम गमगढीबाट तीन घन्टाको पश्चिम तर्फको पैदल यात्रा पश्चात राराताल पुग्न सकिन्छ ।
महिना फागुनको पुछार लागेको थियो । म लगायत मेरा केही साथी र केही विज्ञहरुको एउटा जम्बो टोली दाङबाट लाग्यौ स्वर्गकी अप्सरा बस्ने जिल्ला मुगु तर्फ । बाँके, बर्दिया, सुर्खेत, दैलेख जस्ता जिल्ला छिचोल्दै हामी पुग्यौँ कालिकोटको मान्मा । दिनभरको गाडीको यात्राले सबै थकित देखिए पनि मुगु सँगै आएका सबैको पहिलो बसाइ हुने भएकाले एक बेग्लै प्रकारको उत्सुकता भने सबैमा देख्न सकिन्थ्यो । दाङको गर्मीबाठ कालिकोटको मान्मासम्म आइपुग्दा हावाले पनि आफ्नो आचरण बदलिसकेको थियो । हिमालमा ढल्किदै गरेको घामको अन्तिम किरण र सिरिरी बगेको बतासले मनका कुना कुनामा काउकुती लगाउँदै थियो । अर्को दिन शिवरात्री परेको थियो र हामी जाँदै गर्दा बीच बाटोमा डोरीले बाटो छेक्ने केटाकेटीको भरमार थियो । हामीहरु पनि आफ्नो गाडी रोक्न र केही बेर पश्चिमेली शैलीका ती कलिला बाबुनानीले गाएका गीतका धुनमा धुनमग्न भयौँ र दोस्रो दिन घामले क्षितिजसँग माया गाँस्दै गर्दा हामीले टेक्यौँ मुगु ।
मुगु आफ्नो कार्यविशेषले गर्दा आएपनि सबैको मनमा दुईकुरा भने हेर्न पाए हुन्थ्यो भन्ने थियो । एउटा हिउँ खेल्ने र अर्को स्वर्गकी अप्सरासँगको भेटघाट । मुगु छिर्नासाथ आफ्नो पहिलो इच्छा पूरा भएको पाउँदा सबैको मुहारमा गुलाफ फूलेको थियो । केही बेर हिउँ हानाहान र केही कालान्तरमा सम्झिनका लागि भनेर केही दृष्य कैद गरेपछि हामी लाग्यौँ मुगुको सदरमुकाम गमगढी तर्फ । गमगढी पुगेपछि उपस्थित सबैका लागि आफ्नो काम गर्ने क्षेत्र तोकियो र अर्को दिन भालेको बाससितै हामी सबै छुट्टाछुट्टै लाग्यौँ मुगुका कुना कुनामा र शुरु भयो झण्डै दुई साता लामो पैदलयात्रा ।
आफ्नो जन्मथलो पहाड भएकाले उकाली ओरालीसँग राम्रै चिनजान थियो तर हिमाली भेगका अग्ला पहाड चढ्नु र ती ठाडा नाङ्गा भिर ओर्लनु मेरो जीवनको पहिलो भोगाई थियो । आफ्ना आँखाले हेर्न भ्याउनजेलसम्म हेर्दा पनि देखिन्थे त केवल ती नाङ्गा पहाड, भिर, खोँचमा बग्दै गरेको कर्णाली, मुटु नै कमाउने चिसो बतास र घाँटीमा कोलो झुण्डाएर आफ्नो पिठ्युँमा नुनदेखि सुनसम्म बोकेर हिँडिरहेका घोडा र खच्चड ।
अधिकांश भोटे जातिका मानिस बसोबास गर्ने यस ठाउँमा बुद्ध धर्म मान्नेहरुको बाहुल्यता, त्यसैले ठाउँ ठाउँमा गुम्बाहरु प्रशस्तै देख्न सकिन्छन् । रारा ताल, छाँयानाथ मन्दिर, र मुगु गाउँ यहाँका बिशेषता हुन् र स्याउ, यार्सागुम्बा, कुट्कि, गुचिच्याउ आदि यहाँका आयआर्जनका स्रोत हुन् । तर गुलाफका काँडा जस्तै चुच्चा र तिखा पहाड यस ठाउँलाई विकाससँग साक्षात्कार गराउन नदिने विशेष तत्व हुन् । अहिलेको एक्काइसौं शताब्दीमा पनि बाटो, बिजुली र दुरसञ्चारको सुविधा नपुगेका मुगुका कुना कुनाका दुःखले हामीहरुको मन खिन्न बनायो । मुगु भनेपछि रारा मात्र सोच्ने म र मजस्तालाई अझै २० वर्ष गाडीको सुविधा सायद नपुग्ने डोल्फु जस्ता गाउँसम्म पुग्दा र त्यहाँ बसोबास गर्ने मान्छेको दैनिकी देख्दा लाग्यो आखिर केका लागि हामी पैसा पैसा गर्ने, केका लागि रिस गर्ने के का लागि तछाड मछाड गर्ने…। हामी भन्ने गर्छौँ नेपाल अमेरिका जस्ता देश भन्दा २० औ वर्ष पछाडि छ तर नेपालकै कुनै ठाउँ नेपालकै काठमाडौँ जस्ता ठाउँभन्दा पचासौँ वर्ष पछाडि छन् । सायद यस्ता ठाउँको विकासमा लागे कालान्तरमा अमेरिका जस्ता देश भन्दा हाम्रो देश धेरै पछि हुने छैन ।
प्रायः चिसो नै रहने यस ठाउँमा स्याउ, आलु, ओखर, आरु, कोदो चिनो, चोति, फापर, नाफल, सिमी, जौ, साग आदि लगाउन सकिन्छ भने चौरीगाई पालेर चिज, छुर्पी लगायत विभिन्न दुग्धजन्य खाद्य तत्व बनाई बजारसम्म पु¥याउन सके राम्रै आम्दानी लिन सकिन्छ ।
करिब दुई साता मुगुका कुना कुनासँग साक्षातकार गरिसकेपछि अब बाँकी थियो त केबल त्यस पलको जब स्वर्गकी अप्सराको धर्तीमै साक्षात्कार हुनेछ । सबै काम सकेपछि मुगुको थकाई मेट्न र प्रकृतिको काखमा रमाउने उद्देश्यले म र मेरा केहि साथी लाग्यौँ जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिम तर्फको पैदल यात्रामा । सल्लै सल्लाका रुख र बीच बीचमा मुसुक्क मुस्कुराएका लालीगुराँस र सुमधुर रुपमा गीत सुनाउँदै बगेको झरना देखि लाग्यो सायद स्वर्गकी अप्सरा पनि हाम्रो खातिरदारीमा केही कमी राख्न चाहँदिनन् । करिब तीन घण्टाको यात्रा पछि अन्त्यत हामी पुग्यौँ रारा । त्यहाँ पुगेर राराको कञ्चन पानी, मनै लोभ्याउने हिमश्रृङ्खलाको दृश्य, काउकुती लगाउँदै बहेको बतास र रारालाई हरिया फरिया लगाइदिए झै गरी घेरेको सल्ला, धुपी र लालीगुराँसको जङ्गल देखेपछि मलाई राजा महेन्द्रले रारालाई किन स्वगर्की अप्सरा भनेका रहेछन् भन्ने कुराको ज्ञान भयो । झण्डै दुई साताको हिँडाई र कामले थाकेको मलाई शरीरमा छुट्टै स्फुर्तिको आभाष भयो र लाग्यो रारा काँडै काँडा बीचको गुलाफ रहेछ र लाग्यो सायद गुलाफ गुलाफ हुनपनि काँडाको आवश्यक पर्छ । समयको अभाव र राम्रो खुलेको मौसमले गर्दा यस पटक भने म लगायत मेरा केही साथी ताल्चा विमानस्थलबाट नेपालगन्ज विमानस्थल हुँदै दाङ फर्कियौँ । मुगु यात्रा मेरो जीवनको निकै अविस्मरणीय पल बनेको छ ।