दुलेगाैडा : भिमाद नगरपालिका–९ पाथर्दीका २९ बर्षे ठिटो शिवकुमार आलेले एक दशकदेखी बाख्रा पालन गर्दै आउनुभएको छ । चार वर्ष अगाडी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधी सम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उहाँले बाख्रापालनलाई व्यावसायिक रुपमा अगाडी बढाउनुभएको छ ।
बोर बाख्रापालनबाट मनग्य आम्दानी गर्ने शिवकुमार पाथर्दीका एक्ला कृषक हुनुहुन्न । उहाँसँगै गाउँमा ६० घरधुरीले व्यवसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषकले वार्षिक डेढ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल छन् ।
बाख्रापालनकै कारण यो गाउँको चर्चा देशभर छ । बोर बाख्राको स्रोत केन्द्र पाथर्दी गाउँमा अध्ययन अवलकोनका लागि देशभरका कृषकको आउजाउ हुुन्छ । शनिबार दिउँसो नेपालका लागि इजरायली राजदुत हनन गोडर पनि पथार्दीस्थित शिवकुमार आलेको बाख्रा गोठमै पुगेर अवलोकन गर्नुभएको छ । उहाँले सञ्चालन गरेको सृजनशील बाख्रा फार्मको अवलोकनका लागि आउनुभएका गोडरले बाख्रापालनको बारेमा जानकारी लिनुभयो । उहाँले वार्षिक आम्दानी कति हुन्छ लगायतका प्रश्न गर्नुभयो । निकै सरल र सहज देखिनुभएका उहाँले करिब एक घण्टा पाथर्दीमा बिताउनुभयो । कोदो सेल, मह लगायतका स्थानीय अर्गानिक स्वाद चाख्नुभयो । स्थानीयलाई पनि आफैले बनाएर इजरायली तखिनाको स्वाद चखाउनुभयो । केटाकेटीसँग पनि रमाउनुभयो ।
खबरपुञ्ज डटकमका सहसम्पादक विनोद ढुंगानासँग उहाँले शिवकुमारको बाख्रापालनबाट आफू प्रभावित भएको बताउनुभयो । ‘उनको कृषि कर्मबाट म एकदमै प्रभावित छु,’ उहाँले अगाडी भन्नुभयो, ‘युवाहरुले कृषिमार्फत् नेपाललाई कसरी परिवर्तन गर्दैछन् मैले देख्न पनि पाए ।’
कृषि पेशालाई रहर मात्र बनाउन नहुने राजदुत हननको भनाइ छ । उहाँले भन्नुभयो, ‘कृषि रहर होइन, यो व्यवसाय हो, पेशा हो । जिन्दगीको एउटा बाटो हो ।’ कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै मेहनती भएको उहाँले सुनाउनुभयो ।
‘बाख्रापालन शुरु गर्दा कुनै दिन राजदुत आएर आफ्नो गोठको अवलोकन गर्नुहुन्छ भन्ने कल्पना समेत थिएन्,’ कृषक शिवकुमारले भन्नुभयो, ‘जीवन गुजाराको लागि व्यावसायिक बाख्रापालन थालेको थिए । आजको दिनमा राजदूतको आवगमनले हौसला थपेको छ ।’ आफूसँगै समुदायलाई समेत आर्थिक आत्मानिर्भरको बाटो देखाउन पाउँदा यो पेशाले सन्तृष्टि मिलेको उहाँले बताउनुभयो ।
पाथर्दी गाउँबाटै २०७५ चैत १० गते गण्डकी प्रदेशको महत्वकांक्षी कार्यक्रम ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ को शुभारम्भ गरिएको थियो । गोठभरी बाख्रा पाल्ने यहाँका कृषकले त्यही बाख्रा देखाएर पाहुना डाक्न थालेका छन् । मगर समुदायको बस्ती पाथर्दीमा दुई वर्षदेखि सामुदायिक होमस्टे सञ्चालन गरेका छन् ।